प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

विद्यार्थीको ‘ग्याङफाइट’, हतियारसहित चार जना पक्राउ

२०८० पौष १७, मंगलबार १३:४७ बजे

दमक – झापाको बिर्तामोडमा धारिलो हतियारसहित चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिर्तामोड भद्रपुरोडस्थित बस स्टेण्डबाट मङ्गलबार बिहान चार जना युवालाई खुकुरीसहित नियन्त्रणमा लिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बसस्टेण्डमा दुई समूहबिच ‘ग्याङफाइट’ सुरु भएको सूचनाका आधारमा प्रहरीले चार जना विद्यार्थीलाई घरेलु हातहतियारसहित नियन्त्रणमा लिएको हो । बिर्तामोड वडा नंं. ५ स्थित देवी माविछेउबाट सुरु भएको झगडा र कुटपिट भद्रपुर बसस्टेण्डसम्म पुगेको जनाइएको छ । क्याम्पसको पोसाकमा रहेका आठ जनाको समूहबिच झगडा भएको थियो ।

दुई युवाहरूबिच गाडिभित्र झगडा भएको र समयमा नै प्रहरी पुगेकाले कुनै ठुलो घटना हुन नपाएको प्रहरी भनाइ छ । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।