प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

त्रिकोणात्मक सिरिजका लागि नेपालको टिम घोषणा, सन्दीप लामिछाने पनि राष्ट्रिय टिममा

२०७९ माघ २६, बिहीबार १६:०३ बजे

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ । क्यानले बिहीबार पूर्व कप्तान सन्दीप लामिछानेलाई राख्दै नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टिम घोषणा गरेको हो । 

क्यानले आगामी फागुन २ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिजका लागि टिम घोषणा गरेको हो। क्यानको निलम्बन फुकुवापछि सन्दीप पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

नाबालिग बलात्कारको अभियोग लागेपछि क्यानले गत भदौ २३ गते सन्दीपलाई निलम्बन गरेको थियो । सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ । उनलाई देशबहिर जान प्रतिबन्ध छ भने काठमाडौं बाहिर जान अनुमति लिनु पर्छ।   

गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस १९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए। त्यसपछि  पोखरामा बसेको क्यान बोर्ड बैठकले मुद्दाको किनारा नलाग्दै सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

सिरिजका लागि घोषणा गरिएको टिममा रोहित पौडेल कप्तान छन् भने सूर्य तामाङ पहिलो पटक टिममा परेका छन्।  यस्तै टोलीमा सन्दीप जोरा, कुशल मल्ल र भिम सार्कीले पुनरागमन गरेका छन्। 

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ ।  सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । जुन खेल फेब्रुअरी १४ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुन: खेल्नेछ ।

सिरिजका लागि नेपाली टिम 

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुल्शन झा, भीम सार्की, सूर्य तामाङ।

वैकल्पिक खेलाडीहरू- आरिफ शेख, प्रतिश जिसी, मौसम ढकाल र अर्जुन साउद।