मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज आइतबार मनाइदै गरिएको ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा सहकारी अभियानमा संलग्न सबैमा शुभकामना सन्देश व्यक्त गरेका छन् । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारासहित मनाइदै गरिएको राष्ट्रिय सहकारी दिवसमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले यस अभियानमा लाग्नुहुने सम्पूर्ण अभियन्ताहरुको योगदान प्रसंशनीय रहेको उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमा प्रमुख शर्माले सहकारीले समुदायमा छरिएर रहेको पुँजी र बैंकको पहुँच बाहिर रहेका मानिसहरुलाई आबद्घ गराई आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । वि.सं २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापित भएसंगै नेपालमा सहकारी अभियान शुभारम्भ भएको देखिन्छ । तीव्र आर्थिक वृद्धि र दिगो विकास गर्न सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र विकास मार्फत् उपलब्ध साधन एवं स्रोतको अधिकतम् परिचालन गर्ने कुरा संविधानमै उल्लेख गरी सहकारीलाई तीन खम्बे अर्थ नीति मध्येको एक खम्बा मानिएको छ उल्लेख गर्दै प्रमुख शर्माले पुँजीवादी हैकम र सामन्ती शोषणबाट मुक्तिका खातिर सहकारी आन्दोलन सामाजिक परिवर्तनको एउटा आयाम मान्न सकिनेमा जोड दिएका छन् ।
शुभकामना सन्देशमा उनले सहकारीमार्फत नागरिकको आर्थिक अवस्था विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताएका छन् । उनले भनेका छन्,–‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने मूल ध्येय लिएका सहकारी कार्यक्रम आर्थिक क्षेत्रमा रहेका असमानतामाथि हस्तक्षेपकारी भूमिका खेल्दै ग्रामीण क्षेत्रका नागरिकहरुको आर्थिक समुन्नतीको सपना साकार पार्न टेवा पुगिरहेको छ । कृषि उत्पादन, भण्डारण, उपभोग र बजारीकरणका लागि सहकारीले नेपालको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याएको छ ।’
केही सहकारी संस्थाहरु वित्तीय अनुशासन तथा यसको सिद्घान्त विपरित संचालन भएको गुनासो बेलाबखत सुनिने गरेकोमा यसतर्फ सम्बन्धित पक्षले ध्यान दिनुपर्ने शर्माको भनाई छ ।
उनले समुदायमा आधारित, सदस्य केन्द्रित र यसको मूल्य, मान्यता, सिद्धान्त र मर्म अनुरुप अघि बढेमा सहकारी अभियान थप सार्थक बन्नेछ भन्ने विश्वास लिएको पनि जनाएका छन् ।