हेटौंडा – हेटौंडामा दिउँसै हेटौंडा डान्सबारका सञ्चालक र कर्मचारीमाथि कुटपिट भएको छ । आइतबार दिउँसो हेटौंडा–१० बसपार्कस्थितमा रहेको हेटौंडा डान्सबारका सञ्चालक हेटौंडा उपमहानगरपालिका–१ बस्ने ४० वर्षीय संजय लामासहित दुई कर्मचारीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
डान्सबारमा बिल तिर्ने क्रममा विवाद हुँदा हेटौंडा उपमहानगरपालिका–१० बस्ने ३७ वर्षीय बिक्रम श्रेष्ठ, सोही वडा आनन्द टोल बस्ने ४१ वर्षीय बिष्णुलाल योन्जन, सोही स्थान बस्ने ३१ वर्षीय निमा योन्जन र हेटौंडा–१ बस्ने ४० वर्षीय सुरेश महर्जनले कुटपिट गरेको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए ।
उनिहरुले मादक पदार्थ गरेको बिल तिर्ने क्रममा झगडा हुँदा डान्सबारका सञ्चालक सञ्जय, कर्मचारीद्वय हेटौंडा–४ बस्ने २४ वर्षीय बिजय कुमार मोक्तान र सोही वडा बस्ने २८ वर्षीय रोशन श्रेष्ठमाथि कुटपिट गरेको प्रवक्ता कार्कीले बताए । कुटपिटबाट डान्सबार सञ्चालक लामाको निधारमा ५ टाका, कर्मचारी मोक्तानको नाक र ओठमा १७ टाकाको चोट र श्रेष्ठको टाउकोमा चोट लागेको उनले बताए ।
कार्कीका अनुसार कुटपिटमा संलग्न चारै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको छ ।घट्नास्थलबाट धारिलो हतियार(चक्कु) थान एक समेत फेला परेको प्रहरीले जनाएको छ ।