वालिङ – असार लाग्न थाल्यो । किसानहरू मानो खाएर मुरी उब्जाउनका लागि खेतबारीमा हुने बेला हो । खेतमा धान रोप्न र बारीमा कोदो रोप्न बिउ राख्ने बेलामा लामो समय खडेरी परेको छ । केही किसानले धान तथा कोदोको बिउ राखिसकेका छन् । केहीले पानीकै अभावका कारण अझै पनि राख्न सकिरहेका छैनन् । खडेरीका कारण बिउसमेत राख्न नपाएका किसान चिन्तित त छँदैछन् । बिउ राखिसकेका किसान पनि बीउ जोगाउन चिन्तित देखिन्छन् ।
केही दिनयता तापक्रम बढ्दै जाँदा मकैका बोटहरू सुक्दै गएका छन् । किसानले व्यावसायिक तथा घरमै प्रयोग गर्न लगाएका तरकारी तथा अन्य बालीहरू सुक्दै गएका छन् । लामो समय पानी नपरेपछि पुर्खाहरूले गर्दै आएको भ्यागुताको बिहे गरी इन्द्रदेवसँग पानी माग गरिएको बेहुली पक्ष वालिङ–६ भरुवाका नारायणप्रसाद भण्डारीले बताए ।
वालिङ–८ को ब्याङतुङबाट बेहुला पक्ष जन्तीसहित भरुवा पुगेर विधिपूर्वक भ्यागुताको बिहे गरिएको हो । ‘पहिले–पहिले लामो समयसम्म खडेरी पर्दा पुर्खाहरूले भ्यागुताको बिहे गर्थे’, उनले भने, ‘चार वर्षअघि पनि यस्तै खडेरीमा भ्यागुताको बिहे गरेका थियौँ, त्यस दिन पानी आएको पनि थियो, यस पटक आकाश त गर्जियो तर पानी परेन ।’
रूढिवादी परम्पराजस्तो देखिने भ्यागुताको बिहे पूरै विश्वास गर्न पनि नसकिने र कहीँकतै विश्वास पनि अडिएको आफूलाई लाग्ने गरेको उनी बताउछन् । ब्याङतुङबाट भ्यागुतालाई डोलीमा राखेर जन्तीसहित बेहुली लिन गएको बेहुला पक्षका गोपालधन सुवेदीले बताए । स्थानीयवासीको उपस्थितिमा विधिपूर्वक पूजापाठ गरी भ्यागुताको बिहे गरिएको सुवेदीले बताए।
भ्यागुताको विवाह मौसमसँग सम्बन्धित रहेको विश्वास रही आएको छ । भ्यागुता वर्षाको समयमा बाहिर निस्कने भएकाले दुई भ्यागुतको विवाहलाई प्रतीकका रूपमा मान्ने गरिएको छ । भ्यागुता–भ्यागुताबीच सम्बन्ध भएपछि वर्षा हुन्छ भन्ने विश्वास रही आएकाले यसैका आधारमा यहाँका स्थानीयवासीले पानीको आशमा भ्यागुताको बिहे गराएका हुन् । भ्यागुताको बिहे गरेमा इन्द्रदेव खुसी भई पानी दिने विश्वास पनि रही आएको छ ।
लामो समय खडेरी हुँदा तापक्रम बढ्दै गएको छ । तापक्रम बढेकै कारण जनजीवनसमेत प्रभावित भएको छ । दैनिकी तथा स्वास्थ्यसम्बन्धी समस्याहरू देखिन थालेका छन् । यसअघि भ्यागुताको बिहे सिन्धुली र चितवनमा पनि गरिएको थियो ।