प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जिल्ला प्रशासन कार्यालयमा पत्रकारलाई समाचार संकलनमा रोक, प्रेस युनियनको ध्यानाकर्षण

२०८२ असार ६, शुक्रबार १८:१३ बजे

 

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) स्किम श्रेष्ठले भिडियो तथा फोटो खिच्न नदिएको भन्दै नेपाल प्रेस युनियन मकवानपुरले गम्भीर ध्यानाकर्षण जनाएको छ।

शुक्रबार हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपानेमाथि भएको आक्रमणका सन्दर्भमा नेपाली कांग्रेस मकवानपुरले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम आयोजना गरेको थियो। सो कार्यक्रमको समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई कार्यालय प्रवेश, दृश्य खिच्न तथा समाचार तयार गर्नबाट रोकिएको युनियनका अध्यक्ष सुवास विडारीले जानकारी दिए।

प्रजिअको निर्देशनमा पत्रकारलाई दृश्य छायांकन र समाचार संकलनमा रोक लगाइयो, जुन प्रेस स्वतन्त्रताविरुद्धको कार्य हो,” विडारीले भने। नेपाल टेलिभिजनकी भावना रिजाल (नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष), रातोपाटीका गणेश दुलाल, टिम टेलिभिजनका मनिल महत्तो लगायतका सञ्चारकर्मीहरू थिए।

तर जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी राजेन्द्र प्रसाद कडेलले यस्ता कुनै पनि रोक लगाइएको प्रत्याभूति नगरेका बताएका छन् । 

नेपाल प्रेस युनियन मकवानपुरले यस घटनाको छानबिन गरी प्रेस स्वतन्त्रताको संरक्षण गर्न सम्बन्धित निकायसँग माग गरेको छ।