प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रदेशको राजधानी हेटौंडामा छैन जेब्राक्रस, पैदलयात्रुलाई सास्ती

२०७८ चैत्र १२, शनिबार १४:१८ बजे

हेटौंडा – सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३७ मा निर्धारीत ठाउँबाट बाटो काट्नुपर्दा जेब्रा क्रसिङ, सबवे, ओभरहेड ब्रिज वा त्यस्तै बाटो काट्न निर्धारण गरिएको ठाउँबाट मात्र बाटो काट्नुपर्छ भनेर स्पष्ट लेखिएको छ । त्यो पैदलयात्रुले सडकमा उपभोग गर्न पाउने अधिकार हो । त्यो अधिकारबाट हेटौंडाका पैदलयात्रु बञ्चित भएका छन् । हेटौंडाको सबवे, ओभरहेड ब्रिजको कुरै छोडौँ पर्याप्त जेब्राक्रस नै छैन । कहाँबाट बाटो काट्ने ?

हेटौंडा बजार क्षेत्रको मुख्य राजमार्ग र सडकमा जेब्राक्रस मेटिएको छ भने कतिपय स्थानमा अहिलेसम्म राखिएको छैन । कान्तिलाकपथ अन्तर्गत हेटौंडा उपमहानगरपालिका क्षेत्र ओमभवन चोक, पुरानो फापरबारी बसपार्क, सानोपोखरा, पिप्ले, क्याम्पडाँडा, चौघडामा रहेको जेब्राक्रस सबै मेटिएको छ । त्यस्तै हेटौंडा बजारको स्कुलरोडको चोक, संगमचोक, मानसचोक, उद्योग वाणिज्य संघ चोक लगायत अधिकांश शाखा सडक जेब्राक्रस छैन ।

हेटौंडा–२ स्थित नगरपालिका रोड, जहाँ सरकारी कार्यालयको हब रहेको सडकमा समेत एउटा पनि जेब्राक्रस छैन । विद्यालय, क्याम्पसलगायतको शैक्षिक संस्था रहेका क्षेत्रमा जेब्राक्रस हुने कल्पना भन्दा बाहिरको कुरा हो ।

बागमती प्रदेशको राजधनी समेत रहेको हेटौंडाको सडकमा जेब्राक्रससँग खाल्डाखुल्डीको समस्य जस्ताको तस्तै छ । कान्तिलोकपथ अन्तर्गत हेटौंडाको मुख्य बजार क्षेत्रमा प्रत्येक सय मिटरको फरकमा साना ठुलो गरी करीब दुई दर्जनबढी छ । त्यस्तै हेटौंडाका केही शाखा रोडमा पनि पर्याप्त खाल्डाखुल्डी छन् । 

 खाल्डाखुल्डी नपुरीदा हेटौंडामा दुर्घटनाको जोखिम भन्ने पुरानै समाचार थियो । अहिले जेब्राक्रस नहुँदा दुर्घटनाको जोखिम थपियो । जेब्राक्रस नभएको कारण पैदलयात्रुले जथाभावी सडकपार गर्नु पर्ने बाध्यताको कारण दुर्घटनाको जोखिम थपिएको हो ।

जेब्राक्रस नहुँदा बजार क्षेत्रमा हिंडडुल गर्न र सडक वारपार गर्न समस्या भएको पैदलयात्रुहरु बताउँछन् । पहिला जेब्राक्रस भएको सबै मेटिएको स्थानबाट बाटो वारपार गर्दा गाली समेत खानु परेको पैदलयात्री दिया लामाले दुखेसो पोखिन् ।

खाल्डाखुल्डी र जेब्राक्रस राख्न नगरपालिकालाई जानकारी गराउँदा आफुहरुको क्षेत्रभित्र नपर्ने भन्दै पन्छिएको हेटौंडा–२ स्थित पुरानो फापरबारी चोकमा इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका मनोहर दाहालले बताए । उनले जेब्राक्रस मेटिएको दुई बर्ष भन्दा बढी भएको र सडक खाल्डो भएको चाहिँ एक बर्ष बढी भएको बताए ।

जेब्राक्रस केवल पैदलयात्रीका लागि हो भनेर सवारी चालकले जेब्राक्रसमा सवारी साधन नियन्त्रण गर्ने गरेको पाईंदैन । जेब्राक्रसमा सडक पार गरिरहेको देखिएपछि पहिलो प्राथमिकता यात्रुलाई दिनुपर्ने हुन्छ । तर, जेब्राक्रसमै सबारी कुदाउने चालक पनि धेरै छन् ।

ट्राफिक प्रहरीले पनि जेब्राक्रसमा ओभर स्पीड गर्ने सवारी चालकलाई नियन्त्रणमा लिने गरेको छैन । ट्राफिक प्रहरीलाई नै जेब्राक्रसको बारेमा प्रशिक्षण दिनुपर्ने अवस्था रहेको हेटौंडा–२ का ईश्वर पाठकले बताए । जेब्राक्रसको बारेमा जनचेतना जगाउन आवश्यक रहेको आम पैदलयात्रीको धारणा छ ।

समस्या सानो तर, समस्याबाट निम्त्याउने घटना गम्भिर । कानुन बनाउने सरकार, जनतालाई पालना गर्ने गराउने सरकार । यस विषयमा सरोकारबालाले ध्यान दिनु पार्ला कि नपर्ला ?

केही तस्बिरहरु