हेटौंडा – हेटौंडा उपमहानगरपालिका १० स्थित भुटनदेवी मन्दिर ब्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिको ब्यवस्थापनमा भुटनदेवी रात्रिकालिन पाहुना विश्रामघर सञ्चालनमा आएको छ । उक्त पाहुना विश्रामघरको नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले शनिबार समुदघाटन गरे।
भुटनदेवी मन्दिर ब्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिको २० औं साधारणसभा तथा अधिबेशनको अवसर पारेर प्रमुख अतिथि बानियाँले बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्मित २४ कोठे ६० जना बस्न मिल्ने रात्रिकालिन पाहुना विश्रामघरको उदघाटन गरेका हुन् ।
समितिको २० औं साधारणसभा तथा रात्रिकालिन पाहुना विश्रामघरको समुदघाटन गर्दै प्रमुख अतिथि बानियाँले भुटनदेवी मन्दिरको भौतिक पूर्वाधार निर्माण तथा पर्यटकीय प्रवर्द्धनका लागि विगतमा पनि सहयोग गरेको बताउँदै आगामी दिनमा पनि प्रदेश सरकारबाट आफूले सक्दो सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।
नेता बानियाँले धर्म भनेको सत्य र ठिकको बाटोमा हिडाउने मूल बाटो भएको बताउँदै यसको सम्वर्द्धन र प्रवर्द्धन गर्न हामी सबै लाग्नुपर्ने बताए । समितिका अध्यक्ष राममान श्रेष्ठको सभाध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्वसमेत निर्वाचित गर्ने समितिका उपाध्यक्ष उत्तम शर्मा ढकालले जानकारी दिए। कार्यक्रममा मन्दिरलाई सहयोग र योगदान गर्ने विभिन्न क्षेत्रका समाजसेवीहरुलाई मायाको चिनो र सम्मानपत्र प्रदान गरिएको थियो ।