हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सम्झौताभन्दा बढी नदिजन्य पदार्थ उत्खनन् भएको आशंका गरिएको छ ।
गाउँपालिका र ठेकेदारकम्पनीबीच करिब तीन करोड ५० लाखमा ९७ हजार १११ घनमिटर नदिजन्य पदार्थ सामरीखोलाबाट निकाल्ने सम्झौता भएको थियो ।
गाउँपालिकाकै स्रोतका अनुसार गत जेष्ठ १२ गते नै ९४ हजार घनमिटर उत्खनन् भइसकेकोमा अझै बृहत रुपमा सामरी खोलामा उत्खनन् जारी छ ।
जुन गतिमा पहिले उत्खनन् थियो, त्यो भन्दा तिब्रगतिमा उत्खनन् भइरहेकोले तोकिएभन्दा बढी नदिजन्य पदार्थ निकासी भएको जानकारहरु बताउँछन् ।
यसको जनस्तरमा विरोध समेत भएको छ । यसमा प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, पत्रकार, नेता, अख्तियार, ठेकेदार मिलेर करिब १० करोडभन्दा बढीको राज्यको सम्पतिको कम मुल्याङ्कन गरी बिक्री गरिएको एक स्थानीयले आरोप लगाएका छन् ।
स्थानीयका अनुुसार जेठ १३ गते नै सम्झौताले तोके बमोजिम उत्खनन् सकिएपनि अहिले द्रुतगति मार्ग निर्माण ठुलो परिमाण ग्राबल ओसारपसार भइरहेको छ ।
खोलाबाट जेठ १४ गतेसम्ममा १ लाख ५० हजार घनमिटर उत्खनन् भएको स्थानीयको दाबी छ । यस विषयमा कसैले खवरदारी नगरेको स्थानीयहरुको भनाई छ ।
जेठ १२ गते वडा प्राविधिकले नाप्दा ९४ हजार घटनमिटर देखिएपनि आफुले पुनः सर्वेक्षण गर्दा केही हजार घनमिटर उत्खनन् गर्न बाँकी देखिएको गाउँपालिकाका प्राविधिक जिवन घिमिरेले बताए ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाअध्यक्ष दिपेश दहालले नदिजन्य पदार्थ उत्खननको विषयमा निराधार भ्रम फैलाउने काम भइहरेको बताए । खोला कति उत्खनन् भयो ? भन्ने बारेमा आज साँझ सार्वजनिक गरिने उनले बताए । सम्झौता भन्दा बढी उत्खनन् गरेको पाईएमा प्रतिसेफ्टीका दरले जरिवाना गरिने उनले बताए ।