हेटौंडा – मकवानपुरको बकैंया गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र कार्यकताबिच झडप भएको छ । बकैया गाउँपालिका वडा नंबर १ महादेब भन्ने स्थानमा भोटमाग्न हिडेका एमाले कार्यकर्ता सुरज बल, बुद्ध थिङ, माईला स्याङ्तान लगायतलाई माओवादी कार्यकर्ताहरुले कुटपिट प्रत्यक्षदशीहरुले बताएका छन् ।
माओवादीका कार्यकर्ता विवई तितुङको टोलीले कुटपिट गरेको पीडितहरुले जनाएका छन् ।माओवादी कार्यकर्ताले ज्यान मार्ने धम्की समेत दिएको एमाले कार्यकर्ताहरुको आरोप छ ।
त्यस्तै सोही वडामा माओवादीका कार्यकताहरुले एमालेका पूर्व जिल्ला सदस्य विष्णुप्रसाद भट्टराई पनि कुटपिट गरेका छन् । माओवादी कार्याकर्ता चक्रबहादुर योञ्जनले कुटपिट गरेको आरोप लगाउँदै उनले प्रहरीमा उजुरी समेत दिएको बताए ।
घटनाबारे जानकारी भएको भन्दै निर्वाचनको लागि बकैयामा रहेको शसस्त्र प्रहरी बलका इन्सपेक्टर प्रकाश पौडेलले उक्त स्थानमा आफुहरुले प्रहरी परिचालनको तयारी गरेको बताए ।
भोट माग्न हिडेकै भरमा कार्यकतामाथि कुटपिट घटनाको भत्सना गर्दै नेकपा एमालेका नेताहरुले त्यस्ता अराजक ब्यक्तिहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।