हेटौंडा – मकवानपुरको हेटौंडा र मनहरीमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएको छ ।
आइतबार धरान चतारा सडक खण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१६ हटियामा चिसापानीबाट आउँदै गरेको साइकललाई सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ३३७७ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिंदा दुई जना घाइते भएको छ ।
घाइते हुनेमा साइकल चालक हेटौंडा–१७ ठुलोगंगटे बस्ने ५६ वर्षीय चित्र बहादुर श्रेष्ठ र मोटरसाइकल पछाडि सवार हेटौंडा–८ बस्ने २० वर्षीय अनिश सिलवाल रहेका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साईकल, मोटरसाइकल, मोटरसाइकल चालक हेटौंडा–७ नागसोती बस्ने १८ वर्षीय सिजन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै पुर्ब पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित हेटौंडा तर्फबाट चितवनतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ च ०२५३ नम्बरको बोलेरो आफै अनियन्त्रित भएर सडकको छेउमा पल्टिदा चालक घाइते भएका छन् । चालक सिराहा तुलसिपुर–३ बस्ने ३४ वर्षीय दिनेश कुमार यादब घाइते भएका छन् । टाउको, ढाड, दाईने हातमा चोट लागेको यादवलाई उपचरको लागि भरतपुर चितवनतर्फ पठाएको प्रहरीले जनाएको छ ।