हेटौंडा – बालबालिकाहरुको नगरस्तरिय चित्रकला प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका वडा नं ७ का बालिका बिपिका गौतम प्रथम भएकी छन् । शनिबार आज नगरस्तरिय बाल समूह संजाल, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको नगरस्तरिय चित्रकला प्रतियोगितामा सहभागी १८ जना प्रतियोगिलाई उछिन्दै गौतम प्रथम भएकी हुन् ।
प्रथम स्थान हासिल गरेकी गौतमले नगद २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छन् । त्यस्तै प्रतियोगितामा हेटौंडा–२ का बालिका स्वस्ती शाक्य दोश्रो स्थान हासिल गरेकी छन् । उनले नगद १ हजार पाँच सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छन् ।
प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका हेटौंडा–१३ का समीर गोले नगद १ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । त्यस्तै हेटौंडा–६ का सुरज श्रेष्ठ सान्त्वना हुँदै नगद पाँच सय रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने बालबालिकालाई हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले नगद र प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन् । बाल अधिकार विषयमा भएको नगरस्तरिय चित्रकला प्रतियोगितामा चित्रकार सुर्य सन्यासीले मुख्य निर्णयकको भूमिका निर्वाह गरेका थिए ।
नगरस्तरिय बाल समूह संजाल, हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष सौरज देवकोटाको सभाध्यक्षता भएको चित्रकला प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका महिला तथा बाल विकास महाशाखाका निर्देशक विष्णुकुमारी लामिछाने, बालमैत्री नगर सम्पर्क व्यक्ति बिना ठिके, हेटौंडा–१२ का बालमैत्री सम्पर्क व्यक्ति गिता परियार, बालमैत्री नगर सहजकर्ता सपना ढुंगाना, लगायत वडाका बालमैत्री वडा सहजकर्ताहरुको उपस्तिथि रहेको थियो ।