प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कोरियन भाषा परीक्षा: अहिलेसम्मकै धेरै आवेदन

२०८० पौष ९, सोमबार ०७:५३ बजे

काठमाडौँ – दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस) मा अहिलेसम्मकै धेरैले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार पुस २ देखि ६ सम्म आवेदन माग गरेकामा अहिलेसम्मकै धेरै एक लाख ४३ हजार ८१२ जना युवाले आवेदन दिएका हुन् ।

सो शाखाका प्रमुख गुरुदत्त सुवेदीले अनलाइन प्रणालीबाट आवेदन दिने माग गरेयताको उच्च आवेदन परेको जानकारी दिनुभयो । तीन वर्षयता अनलाइनमार्फत इपिएसको आवेदन दिन सकिने व्यवस्था रहेको छ । सो शाखाका अनुसार गत साउनमा परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने भएका छन् । त्यसले गर्दा पनि आवेदन दिनेको सङ्ख्या बढेको हो ।

गत साउनमा पानीजहाज निर्माणसम्बन्धी कामका लागि इपिएसले कोरिया भाषाको परीक्षा लिएको थियो । यसमा आवेदन दिएर अनुत्तीर्ण भएकालाई यस पटकको परीक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो । त्यसबेला अनुत्तीर्ण भएका १८ जना उच्च अदालतमा यो निर्णयविरुद्ध गएका थिए । अदालतले सो समय अनुत्तीर्ण भएकाले पनि यस पटकको भाषा परीक्षामा सहभागिता जनाउन पाउने निर्णय गरेको थियो ।

रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा उत्तीर्ण गर्नु पर्छ । दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८४८ नेपाली रोजगारीका लागि लैजाने छ । जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो सङ्ख्यामा आवेदन खुलाएको हो । यो क्षेत्रका लागि हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोकिएको छैन ।

सन् २०२४ का लागि दक्षिण कोरिया सरकारले नेपाललाई १६ हजारको कोटा उपलब्ध गराएको छ । आवेदन दिएका परीक्षार्थीको परीक्षा ढिलोमा फागुनसम्म हुने इपिएस कोरिया शाखाले जनाएको छ ।

कोरिया सरकारले सन् २००८ देखि सरकारी तवरमा श्रमिक लैजान थालेको हो । अहिलेसम्म एक लाख १० हजार युवाले कोरियामा रोजगारीको अवसर पाएको इपिएस कोरिया शाखाले जनाएको छ । अहिले करिब ५० हजार नेपाली युवा कोरियामा कार्यरत छन् । गोरखापत्र दैनिकबाट