गैडाकोट(नवलपराशी) – प्राय ः धार्मिक क्षेत्र, जहाँ भक्तजनहरुको बाक्लो उपस्थिति हुन्छ, त्यहाँ मगन्तेहरुको पनि बाक्लो उपस्थिति नै देखिन्छ । तर, नवलपरासीमा रहेको मौलाकालिका मन्दिर प्रवेशद्वारामा फरक दृश्य देखिएको छ ।
चैतमास अनि टन्टलापूर घाम, त्यही घाममै कोही मौलाकालिका माताको दर्शन गर्न उकालो लाग्दै थिए, भने कोही दर्शन गरेर घर फर्कदै थिए । मौलाकालिका प्रवेशद्वार नजिकै सिरमा ढाका टोपी ह्वीलचियरमाथि बसेर ‘पिताम्बरी किनिदिनुन, तामाको भाडा माज्ने पिताम्बरी’ भन्दै भेटिन्छन् कृष्ण सुबेदी ।
नवलपरासी गैंडाकोट निवासी कृष्णको हात चल्छ तर खुट्टा चल्दैन । तैपनि परिश्रम गर्न उनलाई शारारिक अपाङ्गताले रोकेन । उनी काम नगरी बस्नै सक्दैनन् । विहानको खाना खाएपछि गैडाकोट बजारमा ब्यापार गर्न पुग्छन् । ब्यापारकै लागि कहिले नारायणी पारी पुग्छन् त कहिले वारी नै मौलाकालिका प्रवेशद्वारमा ।
उनको त्यो शारारिक अवस्था देखेर केहीले पिताम्बर किनिदिन्छन् भने कसैले किन्दैनन्पनि । कृष्णका लागि भावनात्मक शब्द प्यारो भएपनि मानिसले नाफाघाटाको तुलना गर्दै सोध्छन्, एउटा पिताम्बरको मुल्य कति हो ? कृष्ण बालक झैं तोते बोलीले भन्छन् ‘एउटाको पचास रुपैयाँ ।’ धर्म कमाउन हिड्ने दर्शनार्थीहरु भन्छन्,‘एउटा दिनुस्, दुई दिनुस्, भो नक्किने, पर्दैैन ।’
केही यस्ता भेन्छिन्, ‘तपाई जस्तो अपाङ्गता भएको मान्छे आफ्नो परिश्रम गरेर खाईरहनु भएकोमा खुशी लाग्यो, तपाई यो कामलाई निरन्तरता दिनुस्, तपाई जस्ता मानिसहरुका लागि प्रेरणाको स्रोत हुनुहुन्छ’ भन्दै हौसाला दिने भेटिन्छन् । त्यो हौसलाले आफुलाई उत्प्रेति गर्ने गरेको कृष्णको तर्क छ ।
मानिसहरुबाट प्रेरणा र घृणाको शब्द झेल्दै कृष्णले ४८ औँ बसन्त पार गरिसके । मागेर खानु हुँदैन भन्ने मान्यता सहित उनले ह्वीलचियरबाटै ब्यापार गर्न थालेको ८ बर्ष भयो । मकै, बदाम, चना, पानी, तामाको भाडा माझने पिताम्बर लगायतका सामाग्री बेच्ने गरेको कृष्णले सुनाए ‘दिनको सरदर दुई सय रुपैयाँ कमाउँछु, मागेर खानु पर्दैन, यसैमा म खुशी छु ।’
मागेर खाने बढ्दै गएपछि २०७२ साल बैशाख १२ गतेदेखि ह्वीलचियरमाथि बसेर काम गरेको बताउँछन् । ‘हात खुट्टा सद्दे हुने पनि मागेर हिडेको देख्थेँ, मागेर खाने ट्यापे मुन्द्रेहरुलाई चुनौति दिन मैले ह्वीलचियरबाटै ब्यापार सुरु गरेको हो,’ कृष्ण भन्छन् ।
बाबु गंगा प्रसाद सुवेदी र आमा राधा सुवेदीको कोखबाट जन्मिएका कृष्ण जन्मजात नै अपाङ्ग थिए । उनी घरका जेठो छोरा हुन् । उनको एक दिदी र एक भाई छन् । ‘उनीहरु आफ्नै पेसामा आवद्ध छन्, मलाई काम गर्नुपर्दैन भन्छन्, म मान्दिनँ,’ उनले सुनाए ।
मान्छेको मन र स्वाभाव एकै कहाँ हुन्छ र ? गैंडाकोटको गणेश मन्दिरमा दिन दाहाडै आफु लुटिएको कृष्णले विर्सेका छैनन् । उनले आफुहरु जस्तो अपाङ्गता भएकाको ब्यवसायमा सुरक्षा चुनौति रहेको बताए ।
कृष्ण गैंडाकोटका अपाङ्ग संघका अध्यक्ष समेत हुन् । विभिन्न सामाजिक संघसस्थामा आवद्ध भएर सरकारी निकायसंग समन्वय गरेर अपाङ्गता भएका व्यक्तिहरुको हकहितमा काम गर्ने गरेको बताए । तर, त्यो पर्याप्त नरहेको उनी बताउँछन् ।
‘सरकारको तीन वटै तहमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व हुनुपर्छ, अपाङ्गता भएका मानिसको माग सडकदेखि सदनमा उठ्नु पर्छ,’ उनले भने । आयआर्जनमा जोडिन चाहने अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले आवश्यक सहयोग गनुपर्ने बताए ।