प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मानव बेचबिखन अभियोगमा लिम्बु र तामाङ पक्राउ

२०८० बैशाख ७, बिहीबार १३:०८ बजे

काठमाडौं – वैदेशिक रोजगारका लागि ओमन पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ईलाम फाकफोकथुम गाउँपालिका–६ घर भई काठमाडौं गौरीघाट बस्ने ४० वर्षीय शुकराज लिम्बु र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका भैसेपाटी बस्ने ४५ वर्षीय विष्णु तामाङ रहेका छन् ।

उनीहरुले पीडित व्यक्तिलाई वैदेशिक रोजगारको लागि ओमनमा फ्रि भिषा फ्रि टिकटमा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमन पुर्‍याई ३ हजार ५०० ओमनी रियलमा ओमनी घर मालिकलाई बिक्री गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मालिकले शारिरीक तथा मानसिक यातना दिई आफ्नो घर तथा अफिसको काममा लगाई राखेको अवस्थामा अचानक बेहोश भई पुनस् कम्पनीमा फिर्ता गरेकोमा कम्पनीको मालिकले आफ्नो घर तथा अफिसको काममा लगाई राखेको अनुसन्धानबाट खुल्न आएको छ ।

पीडित नेपाली राजदुतावासको सहयोगमा नेपाल फर्किएका छन् । उनीहरू उपर मानवबेचबिखन तथा ओसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिएर प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।