प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राष्ट्रिय औद्योगिक व्यापार मेला हेटौंडाको टिसिएन चौरमा हुने, यस्तो रहनेछ मेलाका आर्कषणहरु

२०७९ पौष ६, बुधबार ११:५८ बजे

हेटौंडा – मकवानपुर उद्योग वाणिज्य सङ्घले यही माघ ११ गतेदेखि २३ गतेसम्म हेटौंडामा १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ ।

जिल्लामा उद्योग व्यापार क्षेत्रको विकास गरी समग्रमा देशकै आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यसहित बृहत औद्योगिक व्यापार महोत्सव आयोजना गर्न लागिएका बुधबार पत्रकार सम्मेलनमार्फत् संघका अध्यक्ष कृष्ण कुमार गुप्ता ग्रवालले जानकारी दिए ।

महोत्सवका आकर्षणहरु बहुराष्ट्रिय, राष्ट्रिय तथा ठूला साना उद्योगहरुका उत्पादनहरु, स्थानीय तथा राष्ट्रिय उत्पादन तथा सेवाहरुको बृहत व्यापार मेला, सूचना प्रविधि, हस्तकला प्रर्दशनी, कृषि उत्पादनको प्रदर्शनी, क्रेता बिक्रेता अन्तरक्रिया कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष गुप्ताले जानकारी दिए ।

राष्ट्रियस्तरका व्यावसायिक गोष्ठी तथा सेमिनार, वित्तिय तथा सेवामूलक संघसंस्थाहरुको सेवा, शैक्षिक, घरजग्गा तथा हाउजिङ्ग, अटो, खाना तथा सांस्कृतिक मेला, पर्यटन प्रवर्द्धनका विविध कार्यक्रमहरु, बाल उद्यानको व्यवस्था, हेलिकप्टर टुर, खाना महोत्सव व्यवस्था, सवारी साधनहरु (हेभी इक्वीपमेन्ट), राष्ट्रिय स्तरका उद्योगहरुको उत्पादन प्रर्दशनीहरु हुने आयोजकले जनाएको छ ।

व्यापार मेलामा मनोरञ्जनात्मक बाल मेला, हेटौंडा आइडल गायन, नृत्य प्रतियोगिता, मिनी चिडिया घर, महोत्सवको आकर्षणको रुपमा दैनिक विभिन्न जनजातिको भेषभुषामा साँस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिने आयोजकले जनाएको छ ।

महोत्सवबाट उत्पादक तथा उपभोक्ताबीच सोझो सम्पर्क हुने, प्रतिस्पर्धाको विकास हुने, स्थानीय वस्तु तथा उत्पादनहरुको बजार प्रवर्द्धन हुने, नयाँ वस्तु, सेवा तथा अवसरको पहिचान हुने, आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रको विकासमा सहयोग पुग्ने अध्यक्ष गुप्ताले बताए । उनले स्थानीय ब्यापार ब्यवसायीहरुलाई प्राथामिक्ता दिएर स्टलमा विशेष छुटको ब्यवस्था पनि गरिने बताए ।

हेटौंडा–१० स्थित टिसिएनचौरमा १३ दिनसम्म सञ्चालन हुने मेलाको २ लाख भन्दा बढी अवलोकन गर्ने आयोजकको अनुमान छ । आयोजकले मेलामा प्रत्येक दिन एक करोड भन्दा बढीको कारोबार गर्ने लक्ष्य लिएको छ । आयोजकले टिकट दर ५० रुपैयाँ तोकेको छ भने विद्यार्थीहरुलाई विशेष छुटको व्यवस्था गरिएको जनाएको छ ।

कोभिड–१९ को बिश्वब्यापी महामारीका कारण बिगत ३ बर्षदेखि स्थगित भएको औद्योगिक व्यापार मेला पहिलो पटक २०४२ सालमा तात्कालिन अध्यक्ष नारायण प्रसाद शर्माको नेतृत्वमा भएको थियो । विं.सं. २०४३,०५३,०५५,०५६, ०६८,०७०,०७२ र ०७५ गरी हालसम्म ९ पटक मेला आयोजना भईसकेको छ ।