प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाबाट १ करोड ३५ लाखको लत्ता कपडा सहित २ जना पक्राउ

२०८१ आश्विन ३, बिहीबार २१:०७ बजे

हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडाबाट १ करोड ३५ लाख मुल्यको लत्ताकपडा सहित ट्रक चालक र सहचालकलाई पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका वडा नंबर–१५ रातोमाटे चेकपोष्टमा अबैध रुपमा भन्सार छली ल्याएको लत्ताकपडा सहित ट्रक चालक भारत, बिहार राज्य, जिल्ला मोतिहारी, थाना तुकालिया, पुर्वी चम्पारण सपही बस्ने बर्ष ३० का जन्दार आलम र सहचालक सोही स्थानका बन्जरिया पुर्वी चम्पारण चौलाहा कलोनी बस्ने बर्ष १९ का मुना मियालालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सिताराम रिजालले बताए ।

सुनसरीबाट हेटौडा हुँदै काठमाण्डौ जाँदै गरेको WB49N2178 नम्बरको भारतिय ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकका चालक आलम र सहचालक मियालाई प्रहरीले पक्राउ गरेको हो । ट्रक रोकेर खानतलासी गरी पुर्जी दिई निजहरुको शरीर तथा उक्त ट्रक समेतको खानतलासी गर्दा सो ट्रकमा ३४५ बोरा आलुको भन्सार बिल काटेर सो ट्रकमा प्रति बोरा ५० किलोको दरले २६४ बोरा आलु राखी सोको भित्री भागमा लुकाई छिपाई गरी ७४ बोरा बिभिन्न किसिममा तयारी कुर्ता, रोल सहितको सर्ट एंव पाईन्टको कपडाहरु ल्याएको पाईएको प्रहरी उपरिक्षक रिजालले बताए ।

उनका अनुसार अबैध रुपमा भन्सार छलि ल्याईएका लत्ता कपडाहरु, आलुका बोराहरु र भारतिय ट्रक समेत गरी जम्मा १ करोड ३५ लाख बराबरको सामाग्रीहरु रहेका छन् । ट्रक र सो ट्रकका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउँने तयारी भइरहेको उनले बताए ।