प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मापदण्ड विपरितका होङ्सी सिमेन्ट बजारमा छ्याप छ्याप्ति

२०८० भाद्र १५, शुक्रबार १४:४६ बजे

हेटौंडा – उपभोक्ता संरक्षण ऐन २०७५  दफा ३ को उपदफा २ को (ग) मा बस्तु वा सेवाको मुल्य, परिमाण, शुद्धता, गुणस्तर आदीको बारेमा सूचित हुने अधिकार रहेको छ । तर होङ्सी शिवम् सिमेन्ट उद्योग प्रालिले त्यो अधिकारलाई कुन्ठित गरेको पाईएको छ । होङ्शी शिवम् सिमेन्ट उद्योग प्रालिद्वारा उत्पादित होङ्शी साधारण पोर्टल्याण्ड सिमेन्ट(ओ.पि.सी)को ग्रेड नै नखुलाई बिक्री बितरण गरेको पाईएको हो ।

हेटौंडाका अधिकृत बिक्रेताबाट खरिद गरेको ५० किलोग्राम तौल भएको होङ्शी सिमेन्टमा ग्रेड उल्लेख नगरेको पाईएको हो । होङ्सी सिमेन्ट खरिद गर्ने एक उपभोक्ताले नाम नखुलाउने सर्तमा प्रहर खबरसंग भने,‘मैले केही दिन अघि प्रतिबोरा ६४० रुपैयाँका दरले होङ्सी सिमेन्ट खरिद गरेको थिए । त्यो बोराको सिमेन्टमा ग्रेड खुलाईएको छैन ।’

उनले ग्रेड उल्लेख नभएपछि प्राविधिकको सल्लाहअनुसार प्रयोग नगरी सुरक्षित तरिकाले राखेको बताए । सिमेन्टमा ग्रेड छैन ? किन खुलाइएन भनेर प्रश्न गर्दा उद्योगबाटै बोरामा ग्रेड उल्लेख नगरी पठाएको हेटौंडाका डिलर सञ्चालक महेश अग्रवालले प्रहर खबरलाई बताए ।

नेपाल गुणस्तर तथा नापतौल विभागको २०७७ चैत १ गते जारी गरेको सुचनामा नेपाल गुणस्तर ५७२ः २०७६ ले निर्दिष्ट गरे अनुसार ओ.पि.सि. सिमेन्टको प्याकिङ्गमा तीन वडा ग्रेडहरु(३३,४३ र ५३) उल्लेख गर्नुपर्ने जनाएको छ ।

होङ्शी शिवम सिमेन्ट प्रालिद्वारा उत्पादित बिना ग्रेडको होङ्सी ओपिसि सिमेन्टको बोरा र नेपाल गुणस्तर तथा नापतौल विभागले जारी गरेको सुचना । 

सुचना अनुसार साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपिसि ४३ एण्ड ५३ ग्रेड) को प्याकिङ्गको डिजाइन सम्वन्धमा ओ.पि.सि. ४३ ग्रेडको प्याकिङ्गमा एक फन्को रिङ्ग वस्ने गरि मध्य भागमा ५ देखी १० से.मि. सम्मको एउटा पट्टि (सिङ्गल ट्रिप) हुनुपर्ने र ओ.पि.सि. ५३ ग्रेडको प्याकिङ्गमा एक फन्को रिङ्ग वस्ने गरी १/३–१/३ भागमा ५ देखि १० से.मि.सम्मको दुईवटा पट्टी  हुनु पर्ने र वोराको पृष्ठभागको (डबल ट्रिप) रङ्ग सेतो हुनपर्ने  छ । उद्योगले उक्त सुचनाको बेवास्ता गर्दै ग्रेड नै उल्लेख नभएको सिमेन्ट डिलरमार्फत नेपालभर बिक्री बितरण गरिरहेको हो ।

स्टाण्डर्ड नाप र तौल(मोहरबन्द प्याकेज) नियमावली २०७६ को दफा ५ को उपदफा १ को (झ) मा अधिकतम् खुद्रा बिक्री मुल्य र (ट) मा बस्तुको बिषयको सम्बन्धमा दिनुपर्ने अन्य कुनै जानकारी भए सो समेत खुलाउनु पर्ने उल्लेख छ ।

त्यस्तै उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ को उपदफा २ को (ग) मा गुणस्तर निर्धारण भएको बस्तु भएमा त्यस्तो बस्तुको गुणस्तर र (च) मा बस्तुको मुल्य लेबलमा उल्लेख गर्नुपर्ने भनेको छ ।

सिमेन्टको ग्रेड अनुसार गुणस्तरमा फरक पर्ने र संरचना निर्माणमा पनि प्रभाव पर्ने भएकाले सिमेन्टको ग्रेड खुलाउनु पर्ने जानकार प्राविधिक बताउँछन् ।

होङ्शी शिवम सिमेन्ट प्रालिद्वारा उत्पादित बिना ग्रेडको होङ्सी ओपिसि सिमेन्टको बोराहरु । 

कमजोरी लुकाउन कर्मचारीको नौ टंङ्की, उपभोक्ताको गुनासो सम्बोधनमा गैर जिम्मेवार
सिमेन्टको बोरामा ग्रेण्ड नखुलाएको बिषयमा बुझ्न होङ्सी शिवम् सिमेन्ट उद्योगको कार्यालयमा फोन गरेपनि हामीलाई त्यहाँका कर्मचारीले गुमराहमा पार्ने प्रयास गरे  । सिमेन्ट उत्पादन सम्बन्धि प्राविधिक पाटो आफुहरुलाई थाहा नहुने भन्दै प्रिति लोहनी नाम बताउने कर्मचारीले रिजनल म्यानेजर सुवास शाक्यको सम्पर्क नम्बर दिइन् । शाक्यले पनि यस बिषयमा जवाफ दिन नमिल्ने बताए ।

शाक्यलाई हामीले हाम्रो प्रश्नको जवाफ दिने आधिकारिक ब्यक्तिसंग सम्पर्क गराईदिन भनेपछि उनले एक नम्बर दिए । त्यो सम्पर्क नम्बर हाम्रो जवाफ दिने आधिकारिक ब्यक्तिको नभई हामीलाई शाक्यकै सम्पर्क नम्बर उपलब्ध गराउने प्रिति लोहनीको व्यक्तिगत सम्पर्क नम्बर थियो । यसबाट उद्योगले आफ्नो कमजारी लुकाउन उद्योगका कर्मचारीले हामीलाई घुमाउने काम गरेको र उपभोक्ताप्रति गैर जिम्मेवार भएको प्रष्ट हुन्छ। 

ग्रेड खुलाउनु पर्छ, नखुलाएको पाए उत्पादन बन्द गछौँः महानिर्देशक मिश्र
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्रले सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्टको बोरामा सिमेन्टको गुणस्तर सम्बन्धि जानकारी उपलब्ध गराउनु पर्ने बताए । यदी ग्रेड उल्लेख नगरेको पाईएमा उद्योगको सिमेन्ट उत्पादन बन्द गरिने पनि जानकारी दिए । उनले शनिबार कार्यालय बन्द रहने भएकोले आइतबार निरीक्षण गरिने पनि बताए ।

–यस प्रहर खबर संस्करणको मिति २०८० भाद्र १५ मापदण्ड विपरितका होङ्सी सिमेन्ट बजारमा छ्याप छ्याप्ति शीर्षकमा प्रकाशित समाचारभित्र उपभोक्ता संरक्षण ऐन २०७५ हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याईएको छ– सम्पादक