हेटौंडा – हेटौंडामा नेपाल विद्युत प्राधिकरण, हेटौंडा वितरण केन्द्रले गरेको लापरवाहीको कारण इन्टरनेट प्रदायक कम्पनी क्लासिक टेकले गठी गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.५ लक्ष्मि नारायण टोलस्थित रंग मार्गमा पोटबाट तार सार्ने क्रममा प्राधिकरणका कर्मचारीले पोलमा रहेको इन्टरनेटको तार काटेपछि सेवाग्राहीहरुसंग अवैध रुपमा रकम असुली गरेको हो ।
रंगमार्ग पुर्ण रुपमा निर्माण भएपछि विद्युत प्राधिकरणका कर्मचारीले मंगलबार पुरानो पोलबाट नयाँ पोलमा विजुलीको तार विस्तार गरेका थिए । सो क्रममा क्ल्यासिक टेक कम्पनीको इन्टरनेटको तार प्राधिकरणका कर्मचारीले काटिएका थिए ।
प्रधिकरणले तार काटिदिदा करिब १० वटा घरमा इन्टेरनेट अवरुद्ध भएको छ । क्लासिक टेकका कर्मचारीले प्राधिकरणको तर्फबाट भएको क्षति भरनका लागि भन्दै इन्टरनेट अवरुद्ध भएका १० घरबाट अबैध रुपमा रकम असुली गरेको स्थानीय लक्ष्मण न्यौपानेले बताए ।
न्यौपानेका अनुसार क्ल्यासिक टेकले विना विल दुई इन्टरनेट प्रदायक सविन न्यौपाने र आषिस गौतमसंग १५/१५ सय रुपैयाँ असुली गरेका छन् । ‘हामीले १५/१५ सय पैसा नदिएसम्म नेट नजोड्ने भनेको छ,’ उनले भने,‘नेट प्रयोग बापदको पैसा सबैले बुझाई सकेका छन्, तर हार्मी नेट चलाउन पाएका छैनौँ ।’
तार विस्तार गर्ने बारे आफुहरुले जानकारी गराएपनि क्ल्यासिक टेकका कर्मचारी बेवास्ता गर्दा आफुहरु ठगिनु परेको परेको आषिस गौतमले बताए । अरु इन्टरनेट प्रदायकको तार काटिए पनि सेवाग्राहीसंग क्षति भएको भन्दै पैसा असुली नगरेको स्थानीयले बताए । यस विषयमा जानकारी लिन क्लासिक टेक, हेटौंडा शाखामा फोन गर्दा सम्पर्क हुन सकेन ।
प्राधिकरणको मनपरी
नेपाल विद्युत प्राधिकरण, हेटौंडा वितरण केन्द्र मर्मत शाखाका सुरेन्द्र पुर्वेले आफुहरुले नेपाल टेलिकम र वल्डलिङ्क बाहेक अरुको विना जानकारी तार काटिदिएको बताए । ‘लिखित रुपमा जानकारी गराउने गरेका छैनौँ, फोनमार्फत जानकारी दिने हो,’ उनले भने, ‘टेलिकम र वल्डलिङ्कलाई फोन गरेर जानकारी गरायौँ, अरुको नम्बर थिएन, जानकारी गराएनौँ ।’