मकवानपुर – मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं. १५ मा रहेको रातोमाटे चेकपोइन्टमा प्रहरीले लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले बिहान करिब ६:१० बजेको समयमा पूर्व-पश्चिम लोकमार्गमा जाँचको क्रममा मनहरीबाट पथलैयातर्फ गइरहेको ना १ ह ८३२४ नम्बरको अटो रोकेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अटो चालक मकवानपुर मनहरी गाउँपालिका वडा नं. ७ का ३३ वर्षीय शंकर स्याङतान र सोही अटोमा सवार ४० वर्षीय रामशरण प्रजा माथि शंका लागेपछि प्रहरीले उनीहरूको शरीर र अटो जाँच गरेको थियो। जाँचको क्रममा अटो भित्र लुकाई राखिएको ३१ किलो १२० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
लागूऔषध र अटो सहित स्याङतान र प्रजालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।