रौतहट – रौतहटको गढीमाई नगरपालिकामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । शनिबार गढीमाई नगरपालिका–८ स्थित बाटो विस्तारको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भई गोली चल्दा एक जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीर बहादुर बुढामगरले घटनामा स्थानीय राजकुमार राय यादव गोली लागेर घाइते भएको तथा उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी दिए । उनले बाटो निर्माणको विषयमा विवाद हुँदा गोली प्रहार भएको बताए ।
गोली तथा ढुङ्गामुढा लागेर स्थानीय रामप्रताप यादव, कपिलदेवराय यादव र निरञ्जन यादवसहित पाँच जना घाइते भएको उनले जानकारी दिए । उनका अनुसार घाइतेको गरुडास्थित अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी उपरीक्षक बुढामगरले घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र प्रहरीले घटनामा संलग्न रहेको शङ्कामा नौ जनालाई नियन्त्रणमा लिएको उल्लेख गरे । उनले घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी नायब उपरीक्षकको टोली पठाइएको जानकारी दिए ।