काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया प्रस्थान गरेका छन्। उनी देश छोडेर अष्ट्रेलियातर्फ प्रस्थान गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
एक दशक भन्दा लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन् । एन्फा एकेडेमीका उत्पादन उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए।
उनी मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए। सन् २०१५ मा नेपालले विमलको कप्तानीमा पहिलो यु १९ साफ च्याम्पियनसिप जितेको थियो। भारतलाई हराउँदै नेपाली उपाधि जितेको थियो।
यसअघि सुरक्षित भविष्यको खोजीमा राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका खेलाडीहरू अस्ट्रेलिया गएका छन् । केही दिन अघिमात्रै स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया उडेका थिए । यसअघि ५० भन्दा बढी फुटबल खेलाडी सुखद भविष्यको आशामा अस्ट्रेलिया पुगेका छन् ।