प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौँडामा संस्मरण लेखन कार्यशाला

२०८१ भाद्र ८, शनिबार १८:२६ बजे

हेटौँडा – नेपाल निवृत्त शिक्षक समाज मकवानपुर तथा शकुन्तला ढुङ्गेल स्मृति कोषको संयुक्त आयोजनामा आज हेटौँडामा निवृत्त शिक्षकहरूका लागि संस्मरण तथा यात्रा संस्मरण लेखन कार्यशाला सम्पन्न भएको छ ।

यात्रा संस्मरणकार रमेशमोहन अधिकारीले सहजीकरण गर्नुभएको सो कार्यक्रममा मूलतः हेटौँडा, गढी, बकैया तथा वाग्मती पालिकाका १९ जनाको सहभागिता रहेको थियो । स्वदेशको यात्रा संस्मरण लेख्ने सहभागीहरूले गोसाईँकुण्ड, मनाङ, इलाम, पाथीभरा, बुटवल, पोखरा, गोरखाको र विदेशयात्राका बारेमा लेख्ने सहभागीहरूले भारत, जापान तथा अस्ट्रेलिया यात्राका बारेमा लेखेका छन् । केही सहभागीले भने संस्मरण मात्र लेखेका छन् ।
उद्घाटन, सहजीकरण, लेखन तथा समापन गरी चार चरणमा सम्पन्न सो कार्यक्रमको सञ्चालन कवि चेतप्रसाद पौडेलले, स्वागत सुभद्रा लामिछानेले, सभाध्यक्षता नेपाल निवृत्त शिक्षक समाज मकवानपुरका अध्यक्ष सीताराम दाहालले गर्नुभएको थियो भने मन्तव्य जिसस सदस्य खड्कबहादुर पुलामीले व्यक्त गर्नुभएको थियो । कवि जनार्दन खनालले तत्काल रचित यात्राकविता सुनाउनुभएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्य सोही संस्थाका केन्द्रीय सचिव अभिमन्यु गौतमले गर्नुभएको थियो । कार्यक्रम सिद्धार्थ माविको सभाकक्षमा भएको थियो ।