काठमाडौं – स्पेनले फिफा महिला विश्वकप २०२३ को उपाधि जितेको छ। ओल्गा कार्मोनाको निर्णायक गोलमा स्पेनले पहिलोपटक महिला विश्वकपको उपाधि जितेको हो ।
आइतबार सिड्नीमा भएको फाइनल खेलमा स्पेनले इंग्ल्यान्डलाई १–० गोलले पराजित गरेको हो । स्पेनको जितमा २९ औं मिनेटमा ओल्गा कार्मुनाले विजयी गोल गरिन् ।
उपाधि भिडन्तमा स्पेनले शानदार प्रर्दशन गर्यो । बल पोजिसनमा उत्कृष्ट देखिएको स्पेनले गोलका धेरै अवसर सिर्जना गरेको थियो । खेलको ७० औं मिनेटमा जेनिफर हर्मोसोले पेनाल्टी मिस गरेपछि स्पेनले खेलमा अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो ।
स्पेन महिला विश्वकपको उपाधि जित्ने पाँचौ टिम बन्न सफल भयो। यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई पटक तथा नर्वे र जापानले एकएक पटक फिफा महिला विश्वकपको उपाधि जितेका थिए।
इंग्ल्यान्डले सन् २०१५ मा तेस्रो स्थान हात पार्दा स्पेनले भने पहिलो पटक पदक पक्का गरेको थियो। पुरुष र महिला दुवै टिमले विश्वकप जित्ने स्पेन दोस्रो देश बनेको छ ।