हेटौंडा – बाराको विश्रामपुर गाउँपालिका–३ बाट प्रहरीले एकजना भारतीय ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका ३२ वर्षीय सुजितकुमार सिंह रहेका छन् ।
उनलाई गएराति ८ बजेको समयमा गोली हानेर पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । सिंहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि गोली प्रहार गरिएको उनले बताए ।
डीएसपी न्यौपानेका अनुसार सिंहको दुवै खुट्टामा गोली लागेको छ । घाइते भएका सिंहको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको उनले बताए ।
पक्राउ परेका सिंह बाराको बाल एकता बोर्डिङका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न रहेको प्रहरीले बताएको छ। गत कात्तिक १३ गते कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित मदरसा टोलमा प्रिन्सिपल स्वर्णकारको गोली प्रहारबाट हत्या भएको थियो ।