प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नयाँ नोट असोज २५ गतेदेखि साट्न पाइने

२०८० आश्विन १०, बुधबार ०७:४१ बजे

काठमाडौँ – यस वर्षको दसैँका लागि असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेको हो ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिने राष्ट्र बैंक तयारी छ । राष्ट्र बैंकले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रु ५, रु १०, रु २०, रु ५० र रु १०० दरका एक–एक गड्डी गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गरेको थियो ।

नेपाल राष्ट्र बैंकका मुद्रण विभाग प्रमुख एवम् कार्यकारी निर्देशक ईडी नरेश शाक्यले उपत्यकासहित देशका सात वटै प्रदेशस्थित राष्ट्र बैंकको शाखा कार्यालयहरूमार्फत सर्वसाधारणका लागि नोट सटही सुविधा उपलब्ध गराइने बताए । मागका आधारमा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था र सहकारी संघ संस्थाहरूलाई समेत नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउने शाक्यको भनाइ छ ।