काठमाडौं – पाँचथरको मिक्लाजुङ गाउँपालिकामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहीबार साँझ ८ बजे तुम्वेवा ४ स्थित घरबाट मिक्लाजुङ ३ मा रहेको ससुराली घर पुगेका ३५ वर्षीय असफल कुरुम्वाङले खुकुरी प्रहार गरी गोमा फियाकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक (सूचना अधिकारी) सुमित कुश्वाहाले जानकारी दिए ।
उनका अनुसार असफलको खुकुरी प्रहारबाट छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छिमाया फियाक घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि दमकतर्फ पठाइएको स्थानीय वडाध्यक्ष जीवनहाङ फियाकले बताए। माइतीघर बस्दै आएकी गोमासँगको विवाद मिलाउन ससुराली घर पुगेका कुरुम्वाङले छलफल चलिरहेका बेला खुकुरी हानेका थिए । श्रीमतीको हत्यापछि उनी फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।