प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरगढीमा अपाङ तथा विपन्न सहकारीको कोदो संकलन तथा प्रशोधन केन्द्र

२०७९ आश्विन २, आईतबार १५:१५ बजे

हेटौंडा – मकवानपुरगढी गाउँपालिका–४ कालिखोलामा अपाङ तथा विपन्न सहकारी संस्थाले कोदो संकलन तथा प्रशोधन केन्द्र स्थापना गरेको छ । मकवानपुरगढी गाउँपालिकाको लागत साझेदारीमा निर्मित कोदो संकलन तथा प्रशोधन केन्द्रको एक समारोहकावीच उद्घाटन समेत गरिएको छ ।

 गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान ज्यूले विद्युतीय घट्टको स्वीच थिचेर घट्टबाट कोदो पिसेर प्रशोधन केन्द्रको उद्घाटन गरे । कोदो पौष्टिक हिसाबले महत्वपूर्ण बाली भएको हो । यसको बजार माग क्रमशः वृद्वि हुदै गईरहेकोले कृषकहरु कोदो उत्पादनमा लगाउन, सहकारी मार्फत कोदोको संकलन र पिठोलाई प्याकेजिङ्ग गरि बजारीकरण गर्न गाउँपालिकाले सहयोग गरेको हो ।

बिगत दुई आर्थिक वर्ष देखि सहकारी संस्थाले कोदो संकलन गर्दै आईरहेको छ । भवन अभावका कारण व्यवस्थित रुपमा कोदो संकलन तथा विविधिकरण गर्न सकिरहेको थिएन । अब भण्डारण भवन निर्माण र पिसानी मिल स्थापना पश्चात व्यवस्थित रुपमा कोदो संकलन, भण्डारण तथा प्रशोधन र प्याकेजिङ्ग गरि बजारीकरण गर्न सहज हुने सहकारीका सचिव कृष्ण बहादुर घलान ९मुस्कान० ले बताए ।

सहकारी संस्थाले कोदो संकलनको कार्य शुरुवात गरेपछि कृषकहरुलाई कोदो बिक्री गर्न सहज भएको छ । विगतको वर्षहरुभन्दा कोदो खेती विस्तार भएको छ । गत वर्ष वडा न. ४ बाट मात्र १३ हजार ५०० केजी कोदो संकलन गरिएको थियो । यस वर्ष अन्य वडाहरुबाट समेत कोदो सँगै फापर पनि संकलन गरिने लक्ष्य रहेको सहकारीका अध्यक्ष दिलबहादुर योञ्जनले जानकारी दिए ।

गाउँपालिकाले स्थानीय तहमा कोदो र फापरको मूल्य निर्धारण गर्छ । सोही मूल्यमा सहकारी संस्थाले खरिद गर्छ । गाउँपालिकाले सहकारी मार्फत प्रति केजी ४ रुपैयाका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउदै आईरहेको छ ।