कास्की – पोखरामा सोमबार माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान र श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २९ बस्ने ४६ वर्षीय भीमलाल सुनार र उनकी ४६ वर्षीया श्रीमती सावित्री सुनार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवणकुमार बिकले जनाए ।
पोखरा महानगरपालिका वडा २९, पट्नेरीस्थित कुलोमा सोमबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको हो ।सुनार दम्पतीलाई करेन्ट लागेर घाइते भएको सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी घटनास्थलमा पुगेको थियो ।
प्रहरीले घटनास्थलबाट दुवै जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको विकले जानकारी दिए । मृतक दम्पतीको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।