प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मेची–महाकाली साइकलयात्रामा हेटौंडाका ११ जना

२०८० कार्तिक १०, शुक्रबार ०८:५१ बजे

हेटौंडा – मेची–महाकाली साइकल यात्रामा सहभागी हुनका लागि हेटौंडाका साइकलप्रेमी ११ जनाको समूह शुक्रबार झापाको सीमावर्ती बजार मेचीनगर प्रस्थान गर्दैछ । यात्रा टोलीमा ११ जना हेटौंडाका र २ जना बुटवलका साइकलयात्रीहरु रहेका छन् ।

हेटौंडाबाट शुक्रबार बिहान झापाको काकडभिट्टा जाने तयारी गरिएको साइकलयात्रा टोलीले जानकारी दिएको छ । शनिबार कोजाग्रत पूर्णिमाको दिन बिहान ८ बजे मेचीनगरस्थित नेपाल–भारत सीमानाकाको मेची पुलबाट साइकलयात्रा सुरु गरिने भ्रमण टोलीका सदस्य लक्ष्मीचरण श्रेष्ठले जानकारी दिए । साइकलयात्रामा सहभागी सदस्यमध्ये श्रेष्ठ र भानुभक्त आचार्य दोस्रो पटक मेची–महाकाली साइकल यात्रा गर्दैछन् ।

स्वास्थ्य, पर्यावरण, पर्यटन र साइकल संस्कृति विकासको निम्ति साइकल भन्ने सकारात्मक सन्देस प्रवाह गर्दै हिमालयन राईडर्स सोसाइटी हेटौंडाको समन्वयमा सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यको नेतृत्वमा यात्रा हुन लागेको सोसाइटीका उपाध्यक्ष राजु थापामगरले जानकारी दिएका छन् । आचार्य साइकलयात्रामा सहभागीमध्ये जेष्ठ सदस्य हुन् । आगामी दिनमा निर्माण गरिने सार्वजनिक यातायातका पूर्वाधारमा साइकल लेन, साइकल पार्किङ, अपाड्डमैत्री लेन समाबेश गर्न पनि सोसाइटीले आग्रह गरेको छ ।

२०५४ माघ महिनामा सामान्य साइकलमा हेटौंडाका ११ जनाले मेचीमहाकाली यात्रा गरेका थिए । भिजिट नेपाल ९८ को अवसरमा हेटौंडाको सहीद स्मारकलगायतका पर्यटकीयस्थलको जानकारी दिनका लागि ब्यक्तिगत खर्चमा उनीहरुले साइकलयात्रा गरेका थिए । ११ जनामध्ये २ जनाले पूर्वबाट हेटौंडासम्म साइकलयात्रा गरी बीचैमा यात्रा स्थगित गरेका थिए भने ९ जनाले १६ दिन लगाएर मेची–काली साइकलयात्रा पूरा गरेका थिए ।

२५ वर्षअघिको पूर्वपश्चिम राजमार्गको अवस्था र बर्तमान अवस्थामा निकै फरक आएको र अहिले गियर सहितको साइकल उपलब्ध भएका कारण १२ दिनभित्र यात्रा सम्पन्न गर्न सकिने उनीहरुले बताएका छन् । ब्यक्तिगत खर्चमा दोस्रोपटक मेची–काली साइकलयात्रामा जान लागेका आचार्य नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष हुन् ।

टोलीमा लक्ष्मीचरण श्रेष्ठ, भानुभक्त आचार्य, चेतनाथ आचार्य, बुद्धिबहादुर आलेमगर, राजु थापामगर, लेखनाथ ढकाल, सरोज लामिछाने, ओकिलराज बानियाँ, दुर्गाप्रसाद लामिछाने, सुशील चौधरी (बुटवल), सुरज खत्री (बुटवल), विकास बानियाँ, सीता श्रेष्ठ रहेका छन् ।