प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेशसभा बैठक आज

२०७९ असार २९, बुधबार ०३:३७ बजे

मकवानपुर – बागमती प्रदेशसभाको दशौँ अधिवेशनको २५ औं बैठक आज बस्ने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

गत असार १६ गते प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजित बजेट बहुमतले पारित भएको घोषणा गर्दै अनिश्चितकालका लागि बैठक स्थगन गरिएको थियो ।

आजको प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा रहेका विधेयकहरु माथि दफावार छलफल भई प्रतिवेदन तयार भएका उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार बैठकमा मुख्यतः संसद्मा संशोधनका लागि पेश भएको केही प्रदेश ऐन संशोधन विद्येयक–२०७९ माथि छलफल हुने कार्यसूची रहेको छ । सचिवालयले बैठकमा सहभागि हुन सबै सांसदहरुलाई सूचना जारी गरिसकेको जनाएको छ ।

आजको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अधिकांश सांसदहरु अनुपस्थित हुने भएका छन् । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको बैठकमा उपस्थित हुनुपर्ने भएकाले अधिकांश सांसदहरु हाउसमा उपस्थित हुन नसक्ने जानकारी दिए ।एमालेले आधिकारिक रुपमा संसद् बैठक बहिस्कार नगरेको तर बहुमत सांसदहरु पार्टीको बैठक र कार्यक्रममा सहभागि हुनुपर्ने भएकाले अनुपस्थित रहने उनले बताए ।