प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरगढीको रैथानेबाली काठमाडौंमा विक्री

२०८० भाद्र १०, आईतबार १०:११ बजे

हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा उत्पादित स्थानीय एवम् रैथानेबाली काठमाण्डौको दरबार मार्गस्थित रैथाने कृषि हाटबजारमा विक्रीका लागि राखिएको छ । प्रत्येक शनिबार लाग्ने रैथाने कृषि हाटबजारमा शनिबार मकवानपुरगढी गाउँपलिकाभित्र उत्पादन भएका बिभिन्न रैथानेबालि तथा सामाग्रीहरुको प्रदर्सनी तथा बिक्री वितरण गरेको हो ।

मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीका अनुसार गाउँपालिकाको सहयोगमा अपाङ तथा विपन्न कृषि सहकारी संस्थाले ब्रान्डिङ तथा प्याकेजिङ गरेको कालीखोला ब्रान्डको कोदो पिठो, कोदोको दाना, हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाद्वारा उत्पादित बेसारको धुलो, पौवाडाँडा कृषक समूहद्वारा उत्पादित स्थानीय लसुन, बाँसबाट बनेका हस्तसामाग्रीहरु क्रेट, डस्टविन, फाइल ट्रे बिक्रीमा राखिएको थियो ।

विशेष गरि मकवानपुरगढी गाउँपालिकामा कृषक, कृषक समूह, सहकारीहरुले उत्पादन तथा प्याकेजिङ गरेका कोदोको पिठो, बेसार, लगायत अन्य विभिन्न स्थानीय एवम् रैथाने कृषि उपजहरुलाई काठमाण्डौको बजारसँग जोड्न पहिलो प्रयास गरिएको गाउँपालिका अध्यक्ष स्याङतानले बताए ।

पहिलो दिन हाटबजारमा कोदोको पिठो किन्ने उपभोक्ताहरुको उत्साहजनक उपस्थिती रहेको र राम्रो प्रतिक्रिया समेत दिएको कृषि शाखा प्रमुख चौधरीले बताए । अब हरेक शनिवार संचालन हुने रैथाने कृषि हाट बजारमा नियमित रुपमा मकवानपुरगढीमा उत्पादित कोदो, कोदोको पिठो र अन्य कृषि उपजहरू उपलब्ध हुने व्यवस्था मिलाइने उनले बताए ।

स्थानीय एवम् रैथानेबालीको बजारीकरण गर्नका लागि पालिकाले यसअघि विभिन्न मेला तथा प्रदर्शनीमा पालिकाभित्र उत्पादित बस्तुहरु बिक्री वितरण गर्दै आएको छ ।