काठमाडौँ - देशका विभिन्न स्थानमा बुधबार भएका सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ। कैलाली, दाङ, र सुनसरीमा भएका दुर्घटनामा गम्भीर घाइते भएका तीनैजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका-४ त्रिभुवन चोकमा मोटरसाइकल र गाडी ठोक्किँदा ३० वर्षीय बालकृष्ण कँडेलको ज्यान गएको छ। चुरे गाउँपालिका-१ निवासी कँडेल बा.०६-००४ प १६७७ नम्बरको मोटरसाइकल चलाइरहेका थिए। दुर्घटना से.६ प ८७७७ नम्बरको स्कुटरसँग ठोक्किएपछि रोकिएको गाडीमा ठक्कर खाँदा भएको हो। गम्भीर घाइते भएका कँडेललाई माया मेट्रो अस्पताल धनगढीमा उपचारका लागि लगिएको थियो, जहाँ उनको मृत्यु भएको हो। दुर्घटनामा संलग्न गाडी र स्कुटरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका-७ हात्तीखौवामा रा.१ च १३०० नम्बरको भ्यान र रा.७ प ११३५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटरमा सवार लमही नगरपालिका-५ की ५० वर्षीय लीला भुसालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी भुसाललाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो। भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका-१३ काली मन्दिरस्थित सडकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा ४३ वर्षीय बलराम सरदारको मृत्यु भएको छ। मोरङको रंगेली नगरपालिका-६ निवासी सरदार प्रदेश १-०१-००२ त ०२४९ नम्बरको ट्याक्टरले प्र.१-०२-०४८ प ३४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका सरदारलाई विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्याइएको थियो, जहाँ उनको मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तीनै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।