प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जिल्ला फुटबल संघ मकवानपुर एकपछि अर्को विवादमा, तीन–तीन पटक चेक वाउन्स

२०८० बैशाख ५, मंगलबार ०९:४२ बजे

हेटौंडा – खेलाडीहरुको राम्रो प्रर्दशनले मकवानपुरलाई ‘फुटबलको उर्भरभूमि’ ले चिनिन्छि । त्यो उपमा यहाँ खेलाडीहरुको कडा मिहेनत र परिश्रमले पाएको हो । त्यही कारण नेपाली फुटबलमा मकवानपुरको छुट्टै पहिचान छ ।

तर पछिल्लो समय फुलबल खेल र खेलाडीको अविभावक जिल्ला फुटबल संघ मकवानपुरमा अर्कमन्यताको कारण एकपछि अर्को विवाद उत्पन्न भएको छ ।

गत पुसमा गोल्डकपको शंकास्पद् आयव्यय विवरण सार्वजनिक गरेर विवादमा परेको जिल्ला फुटबल संघ मकवानपुर फेरी पुरस्कार रकम उपलब्ध नगराएर विवादमा परेको हो ।

जिल्ला फुटबल संघ मकवानपुरले गएको फागुन ११ गते पाँचौं स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले रङ्गशाला सम्पन्न गरेको थियो ।

प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै जितेको थियो । विजेता मनाङले १५ लाख र उपविजेता शेर्पाले १० पाउने घोषणा आयोजकले घोषणा गरेको थियो ।

आयोजकले पुरस्कार रकम विजेता र उपविजेतालाई वैंकमार्फत एकहप्ताको भाका राखेर चेक थमायो । प्रतियोगिता सम्पन्न भएको दुई महिना वित्दा समेत पैसा नपाएको क्लबले गुनासो गरेको छ । एक अनलाईनका अनुसार आयोजकले दिएको चेक तीन पटकसम्म वाउन्स गर्नुपरेको पदाधिकारीको भनाई छ ।

मनाङ क्लबका एक पदाधिकारीले एक अनलाईनमा भनेका छन् ‘तीन तीन पटक सम्म पनि बैंकबाट चेक साटिएको छैन । बैंकमा जादा खातामा पैसा छैन भन्छ । संघका पदाधिकारीलाई फोन गरे, सधै भोलि, भोलि मात्र भन्छन् ।’

गत जेष्ठमा चौथो संस्करण आयोजना गरेको संघले ६ महिना लगाएर सार्वजनिक गरेको आय/व्यय विवरणको शिर्षकमा अस्वाभाविक खर्च देखाईएको थियो भने एउटै शीर्षकमा समावेश गर्न सकिने खर्चलाई दोहोरो शीर्षक बनाएर लाखौँ खर्च भएको उल्लेख गरिएको थियो ।

उक्त सार्वजनिक हिसावमाथि आपत्ति जनाउँदै विभिन्न क्लब तथा संघसंस्थाले वास्तविक खर्च सार्वजनिक गर्न र सत्यतथ्य पत्ता लगाउनु  स्थानीय तहदेखि मन्त्रालयसम्म ध्यानार्कषण गराएको थियो । त्यसको सुनुवाई फुटबल संघले गर्यो, न सरोकारवाला निकायले नै । अझै सत्यतत्थ्य सार्वजनिक हुन सकेको छैन ।

साँझा संस्थाको नेतृत्वमा बसेर बोलेर झुक्याउने प्रवृत्तिको कारण निकट भविष्यमा मकवानपुरको फुटबल गतिविधिमाथि नकारात्क असर पर्ने पुर्वखेलाडी तथा प्रशिक्षक सुविन घिमिरे बताउँछन् । ‘एकैबर्षमा दुई वटा प्रतियोगिता गरेपछि समस्या आउँछ, त्यसको व्यवस्थापन गर्न नसक्नु नेतृत्वको कमजोरी हो,’ घिमिरे भने,‘यसबारे जिल्ला फुटबल संघका पदाधिकारीहरु गम्भीर हुनुपर्छ ।’

एकपछि अर्को विवाद विवादमा आउनु जिल्ला फुटबल संघ मकवानपुरको पदाधिकारीहरुको कार्यकुशलतामाथि गम्भीर प्रश्न चिह्न उठेको ५ नम्बर वडा संयुक्त युवा क्लबका अध्यक्ष विशाल राज महत बताउँछन् । ‘पहिलेको सत्यतथ्य हिसाब नै सावर्जनिक नभई अर्को विवाद निस्कनु राम्रो कुरा होइन्, यसबारे सरोकारवाला निकायहरु गम्भीर हुनुपर्छ,’ महतले भने ।

यता जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाले स्थानीय तह र प्रदेश खेलकुदबाट माग भए वमोजिम भुक्तानी नपाउँदा तोकिएको समयमा रकम उपलब्ध गराउन नसकिएको बताए । उनले मनाङलाई कर कट्टा गरेर चार लाख भुक्तानी दिएको, अब सात लाख मात्रै भुक्तानी दिन बाँकी रहेको बताए । बाँकी रकम एक दुई दिनमै उपलब्ध गराउने उनको भनाई छ ।

स्थानीय तह सहिद स्मृती गोल्डकपमा लाखौँ अदृश्य खर्च, हिसाब नमिले के–के गर्नुपर्छ ?