प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

कमल थापाले गाई नपाएपछि भने– अदालतमा चलखेल, दवाव र ‘सेटिङ’ भयो

२०७९ भाद्र २१, मंगलबार १५:१० बजे

हेटौंडा – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गाई चुनाव चिन्ह नपाउने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र तीलप्रसाल श्रेष्ठको संयुक्त ईजलासले थापाले गाई चुनाव चिन्ह माग गर्दै दायर गरेको रिट मंगलबार खारेज हुने फैसला गरेको हो ।

अदालतको यो फैसलासँगै राप्रपा नेपालले तीर चुनाव चिन्ह नै कायम रहेको छ । असार ३० गते थापाले सर्वोच्च अदालतमा निर्वाचन आयोग निर्णयविरुद्ध गाई चुनाव चिन्ह माग गर्दै रिट दायर गरेका थिए ।

कानुनी अधिकार कुण्ठित भयो: अध्यक्ष थापा

अध्यक्ष थापाले गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् । उनले चुनाव चिन्ह रोज्नपाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको बताए । चलखेल, दवाव र ‘सेटिङ’ले कसरी संवैधानिक अंगलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण यो रहेको उनले बताए ।

‘कुन कानुनमा टेकेर सर्वोच्च अदालतको आफ्नै दुई अन्तरिम आदेश उल्टाउने काम माननिय कुमार रेग्मी र माननिय तिलप्रसादको इजलासले गर्‍यो ? यसको जवाफ यहाँहरूले दिनुपर्छ । ओठें जवाफ दिन सकिएला, तर उहाँहरूको अन्तर्आत्मालाई जीवनभर पोलिरहने छ,’ उनले भने । कुन कानुनले गाई चिन्ह नपाउने लेखेको छ ? भन्दै उनले प्रश्न गरेका छन् । यसका साथै उनले अदालतको फैसला भने मान्य बताएका छन् ।

भदौ १२ गते न्यायाधीश सपना प्रधान मल्लको एकल ईजलासले कारण देखाउ आदेश जारी गर्दै राप्रपा नेपाललाई गाई चुनाव चिन्ह नदिने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले पुरानै पार्टीलाई ब्युँत्याएका थिए ।