मकवानपुर – विहीबार मनाइदै गरिएको किराँत समुदायको महत्वपूर्ण पर्व उधौलीका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना सन्देश व्यक्त गरेका छन् ।
प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्नुहुँदै यो पर्वको सुखद् अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दाजुभाई(दिदिबहिनीहरुमा सुस्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
प्रमुख शर्माले आफ्नो सन्देशमा नेपालीहरुको परम्परा, भेषभुषा, चालचलन एवं चाडपर्व र संस्कृतिमा विविधता रहेको उल्लेख गर्दै यही विविधताभित्र दरिलो एकता तथा सामाजिक सहिष्णुता विश्वसामु हाम्रो पहिचान बनेको बताएका छन् । यसप्रति हामीले गर्वबोध गर्न सक्नुपर्ने भन्दै उनले हामी सबै समुदाय र सम्प्रदायका नेपालीहरु समस्टीमा बन्धु–बान्धव हौं रहेको उल्लेख गरेका छन् ।
शुभकामनामा उनले, ‘हाम्रा सबै भाषा तथा चाडपर्वहरु राष्ट्रिय हुन् । यस सन्दर्भमा हाम्रो देशका किराँत समुदायहरुले मनाउने उँधौली पर्व पनि हाम्रा पर्वहरु मध्येको एउटा महान् चाड हो । ’ भनेका छन् ।
उँधौली पर्वको हाम्रो जीवनमा विशिष्ट महत्व रहेको सन्दर्भ समेत प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ । ‘नेपाली जीवनको आधारस्तम्भ कृषि एवं पशुपालनबाट विकसित हुँदै आएको हो । एकातिर पशुहरु लेकाली इलाकाको खर्कबाट गाउँवेशी झरेको र अर्कातिर अन्नबाली भित्राएको खुशीयालीमा मनाइने यो पर्वको हाम्रो जीवनमा विशिष्ट महत्व छ । ’ उनको शुभकामना सन्देशमा भनिएको छ,‘यसलाई हाम्रो गौरवमय परम्परा र उच्च सांस्कृतिक धरोहरका रुपमा जोगाई राख्नु हाम्रो दायित्व पनि हो ।’
प्रमुख शर्माले यस पर्वले हामी नेपालीबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकता सुदृढ गर्न प्रेरित गर्नेछ भन्ने विश्वास समेत लिएका छन्।