प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको टिसिएन चौरमा प्रकाश सपुतको ‘गलबन्दी च्यातियो...’

२०७९ माघ १७, मंगलबार १४:५६ बजे

हेटौंडा – मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा चर्चित गायक प्रकाश सपुतले धमकेदार आफ्नो सांगीतिक प्रस्तुती दिएका छन् ।

प्रकाशले आफ्नो बहुचर्चित गित गलबन्दी च्यातियो..., कुरा बुझ्नु पर्छ... गीत गाएर हेटौंडाका दर्शकहरुलाई नचाएका थिए । अर्को हिट नम्बर पीर दियो...,मेरो पनि हैन र यो देश... गित प्रस्तुत गर्दा दर्शकले प्रकाशको स्वरमा स्वार मिलाएर गीतलाई पछ्याएका थिए ।

गायक प्रकाशले हेटौंडाको टिसिएन चौरमा युट्युवको करोड क्लबमा पुगेका गितहरु गाएर हेटौंडाका दर्शकहरुलाई नचाएका थिए । उनले त्यहाँ आधा दर्जन भन्दाबढी नेपाली दर्शकले सुचाएको सांगीतिक प्रस्तुती दिएका थिए ।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन र विक्री गर्ने उद्देश्यले जमादार ग्रुप हेटौंडाले सञ्चालनमा ल्याएको स्वदेशी सुपरमार्केटले गायक सपुतलाई महोत्सवमा ल्याएको हो । महोत्सवको थप शोभा बढाउन ग्रुपले हेटौंडामा ल्याएका हुन् ।

महोत्सवको सातौं दिन मंगलबार महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले गीतसंगीतमा मज्जाले झुमेका थिए । महोत्सवमा गायिका अस्मिता अधिकारी, पुराना चर्चित लोक गायक घमेश दुलाल, कमेडियन प्रभात लामाले आफ्नो प्रस्तुती दिएका थिए ।

युवापुस्ताको मन मुटुमा बसेकी गायिका अधिकारीले आफु नाच्दै गाउँदै सबैलाई नचाएकी थिइन् । आफ्ना चर्चित गीत प्रस्तुत गरेकी अधिकारीले हेटौंडामा पहिलो पटक आफ्नो सांगीतिक प्रस्तुती दिएकी हुन् ।

भोली बुधबार युवापुस्ताका मनपर्ने गायक युवराज चौलागाई, गायिका शीलु भट्टराई गायक विश्व नेपाली, कमेडियन सुदीप थापा लगायतका कलाकारले आफ्नो प्रस्तुती दिने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए ।

सोमबार महोत्सवमा बाल गायक अशोक दर्जी र टंक बुढाथोकी, कलाकार सुलेमान शंकर ईकु, गायक प्रदीप त्रिपाटी र गायिका मञ्जु पौडेलले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए ।

महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको टप टेन छनौट भई भोटिङ राउण्ड सुरु भएको छ । मंगलबारबाट आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजक जनाएको छ ।

महोत्सवलाई हेटौंडाको उत्पादन शिवम सिमेन्टले प्रायोजन गरेको छ भने सह—प्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मी ग्रुप (हुण्डाई) रहेको महोत्सवका मुल संयोजक एवम् मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनुभयो । मेला सम्पन्न गर्न जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेका छन् भने महोत्सवको सह—आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेको अध्यक्ष गुप्ताले बताए ।

महोत्सवको टिकट प्रायोजकमा शौर्य सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट रहेको छ । महोत्सवको आधिकारिक विमा कम्पनीको रुपमा एनएलजी विमा कम्पनी रहनुका साथै लोगो प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल ईकरात रहेको मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ, मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फन पार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।

११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । मंगलबार हेटौंडा सामुदायिक आँखा अस्पतालबाट स्वास्थ्य सेवा प्रदान गरिएको थियो । भोली बुधबार चुरेहिल हस्पिटलका विशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण गरिने जनाइएको छ ।

मंगलबार महोत्सवमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री दीपकबहादुर सिंहको प्रमुख आतिथ्ता रहेको थियो । उनले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै समग्र उद्योग, व्यवसाय र व्यवसायमा पर्ने विद्युत लोडसेडिङका विषयमा आफ्नो भनाई व्यक्त गरेका थिए ।