प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

वनजंगलसँग सम्बन्धित कार्यक्रम संचालनमा स्थानीय तहले जोड दिनुपर्छ: मुख्यमन्त्री जमकट्टेल

२०७९ फाल्गुन १८, बिहीबार १५:०१ बजे

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले वन विनास द्वन्द्वको मुख्य कारण भएको बताएका छन । उनले वन जंगल मासिदै जाँदा जनावरहरु वास र खानाको खोजिमा जंगलबाट मानवबस्तीमा छिर्न थालेकाले जनावर र मानव बिच द्वन्द्व भएको बताए ।

जिल्ला समन्वय समिति, मकवानपुर डिभिजन वन कार्यालय हेटौंडा र डिभिजन वन कार्यालय राप्ती मनहरीको संयुक्त आयोजनामा मानव वन्यजन्तु द्वन्द्व एवं वन डढेलो न्युनिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वन र वन्यजन्तुको द्वन्द्व हटाउन वनजंगलसँग सम्बन्धित कार्यक्रम स्थानीय सरकारले पनि संचालन गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय सरकार जनाताको नजिक हुने भएकाले वनसँग सम्बन्धित कार्यक्रममा स्थानीय तहले चासो राख्नुपर्ने तर्क गरे ।

प्रदेश सरकारको मातहतमा निकुञ्ज नभएको स्मरण गराउँदै मुख्यमन्त्रीले स्थानीय सरकारले वनको योजना बनाएर संघीय सरकारसंग समन्वय गर्नुपर्नेमा जोड दिए । उनले मकवानपुरमा हालै हात्तीको आक्रमणको घटना वनजंगल विनास हुँदै गएकाले जंगलबाट वन्यजन्तु गाउँमा प्रवेश गरेको बताए । समाजमा चेतनाको स्तर कम भएका कारण जंगली जनावरप्रति हामीले गर्ने व्यवहारले पनि समस्या आउने गरेको बताए । उनले सचेतनामूलक कार्यक्रम प्रभावि वडा वडामा पुगेर गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सांसद प्रेम बहादुर पुलामी छिन्तुले वनका जागिरे कर्मचारीलाई वन्यजन्तुका कारण हुन सक्ने मानविय क्षति न्यूनिकरण गर्नका लागि गम्भीर भएर लाग्न आग्रह गरे । उनले प्रत्येक बस्ती, टोलमा जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिर्दै घटना हुनुपूर्व तयारी गर्नुपर्ने बताए ।

कार्यक्रमालाई सम्बोधन गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले डँढेलो मानिसले व्यक्तिगत स्वार्थका लागि लगाउने भएकाले यसो नगर्न समेत आग्रह गरे । मानिस वनको संरक्षणका लागि लाग्नुपर्ने उनले बताए ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले मानव–वन्यजन्तुको द्वन्द्व र वन डँढेलो न्यूनीकरणको उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए । वन्यजन्तुको आक्रमणबाट भएका घटनामा पीडित पक्षलाई राहत प्रदान गरे तापनि मानिसको जिवन अमुल्य भएकोले मानव आफैं पनि सजग रहनु पर्ने उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उप प्रमुख सानुकाजी लुईटेल, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटा लगायतकाले बोलेका थिए ।