हेटौँडा – नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटि मकवानपुर र भुटनदेवि युवा क्लवको संयुक्त आयोजनामा भएको खुल्ला नकआउट ७ ‘ए’ साइट फुटबल प्रतियोगिता शुरु भएको छ । हेटौँडा—४ हुप्राचौरमा भएको प्रतियोगिताको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका हुन् ।
२४ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा विजेता हुनले नगद ५० हजार र उपविजेता हुनेले २६ हजार सहित सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछन् । व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत बुधबार पहिलो दिन ७ खेलहरु हुनेछन् ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले खेलकुद एक अनुशासित हुनै पर्ने क्षेत्र रहेकाले विना अनुशासन खेलाडी हुन नसक्ने धारणा राखे । खेलकुदले देशविदेश चिनाउने देखि स्वास्थ्य बन्न समेत सहयोग गर्ने भन्दै खेल खेलकुदलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले अनुशासित युवाहरुबाट नै देशको विकास हुने भन्दै प्रतियोगिताको शुभकामना दिए ।
संस्थाले स्थानीयस्तरमा रहेका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउनुका साथै आन्तरिक खेलकुदको विकासमा पनि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ फुटबल प्रतियोगिता आयोजना गरिएको महासंघ जिल्ला कमिटि मकवानपुरका अध्यक्ष सविन लामाले बताए ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, नेकपा एमाले मकवानपुरका सचिव तथा वडा नम्बर—४ का वडा अध्यक्ष नविन सिग्देल,नेपाल खेलकुद महासंघका निवर्तमान उपमहासचिव तथा केन्द्रीय आयोजक कमिटि सदस्य धरम लामा,नेकपा एमाले मकवानपुर सचिवालय सदस्य फुर्वा लामा, खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्की, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटि सदस्य सन्तोश चौलागाई,सचिवालय सदस्य मिलन पाठक लगायतको आथित्यता रहेको थियो ।