काठमाडौं – सत्ता साझेदार पाँच दलको बैठकले नागरिकता विधेयक र सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधि सभामा फिर्ता गरिएको नागरिकता विधेयकको प्रक्रिया संसद्मा अघि बढाउने सहमति भएको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, “राष्ट्रपतिज्यूलाई संवैधानिक अधिकारबमोजिम नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता आएकोमा संविधानबमोजिम संसद्ले पुनर्विचार गरी प्रमाणीकरण गर्न पठाएमा प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था भएबमोजिम फिर्ता आएको उक्त विधेयकलाई संसद्मा तत्काल प्रक्रिया अघि बढाउने सहमति भएको छ ।”
मन्त्री कार्कीले सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकका सम्बन्धमा बृहत् छलफल गरी यससँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न रहेका सरोकारवाला, मानव अधिकारकर्मी, विभिन्न तह र तप्का तथा पीडित व्यक्तिसहित सङ्घ÷सङ्स्थासँग परामर्श गरी उहाँहरूले दिएका सरसल्लाह र सुझावलाई गहन रूपमा गठबन्धनले लिएको बताउनुभयो । उहाँले यसबारे गठबन्धन बैठकमा समीक्षा र विश्लेषण गर्दै शान्ति तथा मेलमिलापलाई टुङ्ग्याउन टीआरसी विधेयकलाई अघि बढाउने सहमति भएको जानकारी दिनुभयो ।