काठमाडौं – नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको भाउ नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
यसअघि २०७९ चैत २२ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो।
अघिल्लो कारोबार दिन अर्थात् बुधबार तोलामा एक हजार आठ रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार दुई सय रुपैयाँ बढेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ थियो । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि बुधबार चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको थियो।