प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपालीले छाता ओढ्दा ११ महिनामा बाहिरियो ६२ करोड रुपैयाँ

२०८२ असार ९, सोमबार ०७:४९ बजे

काठमाडौं । वर्षायाम शुरु भएसँगै छाताको प्रयोग बढ्न थालेको छ।

त्यसो त अत्यधिक गर्मी र नेपालको सन्दर्भमा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिमा पनि यसको प्रयोग अनिवार्य मानिन्छ।

नेपालीको जीवनशैलीसँग नै नजिक रहेको यसको प्रयोगमा भने मुलुक विदेशमै निर्भर रहनुपरेको छ।  नेपाली बजारमा बर्सेनी औसतमा ४५ लाखभन्दा बढी छाता भित्रिने गरेको देखिन्छ ।

पछिल्ला पाँच वर्षको छाता आयातको विवरण हेर्दा यसको माग क्रमिक रूपमा बढेको देखिन्छ । तीन वर्षयता यसको माग अझ तीव्र रूपमा बढेको तथ्याङ्कले पुष्टि गर्छ ।

बर्सेनि लाखौँ छाताको माग हुने भए पनि मुलुकभित्र यसको उत्पादन नै हुँदैन।  भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना नेपालले ४६ लाख ५६ हजार थान छाता आयात गरेको छ ।

यसमा छाताका लागि आवश्यक प्रेम, डण्डी र टेलिस्कोप छाता जोडिएको छैन। त्योसमेत जोड्दा छाता आयातको सङ्ख्या थप ५० हजार थानले बढ्छ। वर्षायाम शुरु हुन थालेको चालु आवको बाँकी एक महिनामा पनि यसको आयात थप बढ्ने देखिन्छ।

छाता मात्र आयात गर्दा नेपालबाट ११ महिनामा ६२ करोड रुपैयाँ बाहिरिएको छ। छाता आयातबापत सरकारले साढे १८ करोड रुपैयाँ भन्सार राजस्व सङ्कलन गरेको छ। 

गत आवमा नेपालले ५२ लाख ३१ हजार छाता आयात गरेको थियो जसबापत ६५ करोड रुपियाँ नेपालबाट बाहिरिएको छ । त्यसअघि आव  २०७९/८० मा ४९ लाख २७ हजार थान छाता आयात गर्दा ६० करोड रुपैयाँ खर्च भएको छ।