काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। राजधानीमा बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो।
बैठकले आसन्न उपराष्ट्रपतिको निर्वाचनमा यादवलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिनुभयो। उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता फागुन २७ गते र निर्वाचन चैत ३ गते तय गरिएको छ।
प्रवक्ता सुमनका अनुसार वर्तमान सत्ता गठबन्धनमा भएको सहमतिअनुसार जसपाले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। सत्ता गठबन्धनमा उपराष्ट्रपति पद जसपालाई दिने समझदारी भएको उनको भनाइ छ। पार्टीको बैठकमा पहिलो नम्बरमा रामसहायप्रसाद यादव र दोस्रो नम्बरमा नवलकिशोर साहको नाम आएको थियो तर बैठकबाट यादवको नाममा सहमति जुटेको प्रवक्ता सुमनले जानकारी दिए।