हेटौंडा – मकवानपुरको मनहरीमा सौतेलो छोराको कुटाईबाट एक महिलाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नं.४ डिल्लिपुर बस्ने २५ बर्षीय ईन्द्र बहादुर चेपाङको कुटाईबाट ५० बर्षीया सन्तमाया चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार गत कार्तिक २७ गते बिहान ९ बजेको समयमा इन्द्र बहादुरले आफ्नो कान्छी(बुवाको कान्छी श्रीमति)आमालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उनको उद्धार गरी उपचारका लागि चितवनस्थित सरकारी अस्पतालमा लगिएको थियो ।
उपचारको क्रममा मंगलबार राति १२ बजेर ५० मिनेटको समयमा मृत्यु भएको भण्डारीले बताए । उनका अनुसार कुटपिटमा संलग्न इन्द्र बहादुर प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।