हेटौंडा – पूर्ववपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१९ सान्नानिटारमा ट्याङ्कर र पिकप गाडी एकआपसमा ठोक्किएको छ । बुधबार दिउँसो मनहरीबाट हेटौंडा बजारतर्फ जादै गरेको ना ७ ख ४२३८ नम्बरको खाली ट्यांकर र बिपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०२७ च १०६३ नम्बरको ईसुजी पिकप गाडी एकआपसमा ठोक्किँएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परी पिकप गाडीमा सवार ८ जना घाइते भएका छन् । घाइते हुनेहरुमा भक्तपुर चागुनारायण नगरपालिका–९ बस्ने ३२ बर्षीया निरु त्यात, ३३ बर्षीय आरयान त्यात, ११ बर्षीय रियान त्यात, ५ बर्षीय रिवस त्यात, भक्तपुर नगरपालिका–५ बस्ने ३२ बर्षीय प्रकाश मठ्या, ३१ बर्षीया नबिना मठ्या, ६ बर्षीय प्रसुन मठ्या र २२ महिने बालक प्रनुस मठ्या रहेका छन् ।
प्रहरीका अनुसार घाइतेहरुको उद्धार गरी हेटौंडा अस्पतालमा उपचार गरिएको थियो । घाइते भएका मध्ये ६ जना उपचारपछि डिस्चार्ज भएका छन् । त्यस्तै आरयानको आँखामा जाँचका लागि हेटौंडा आँखा अस्पताल पठाईएको छ भने प्रसुनको हेटौंडा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।