प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

स्कट्ल्यान्डमाथि नेपालको जित

२०८१ कार्तिक १४, बुधबार ०८:१० बजे

काठमाडौं – आरिफ सेखको अर्धशतकसँगै नेपालले आइसिसी विश्वकप लिग २ मा स्कट्ल्यान्डलाई पराजित गरेको छ।मंगलबार भएको खेलमा नेपालले स्कट्ल्यान्डलाई पाँच विकेटले पराजित गरेको हो।

लिग २ मा नेपालको यो दोस्रो जित हो। यसअघि नेपालले नेदरल्यान्ड्सलाई घरेलु मैदानमा आठ विकेटले पराजित गरेको थियो। त्यसअघि र त्यसपछि भएका ९ मध्ये एक टाइको नतिजा निकालेको नेपालले ७ खेलमा भने नेपाल पराजित भएको थियो।

अमेरिकाको ड्यालसमा टस हारेर ब्यािटङ गरेको स्कटल्याण्ड ४१ दशमलव ४ ओभरमा १५४ रन बनाउँदै अलआउट भयो। जवाफमा नेपालले उक्त लक्ष्य २९ दशमलव ५ ओभर (१२१) बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा आरिफ शेखले ५१ रनको नटआउट अर्धशतकीय इनिङ खेले। त्यस्तै गुल्सन झा २५ रनमा अविजित रहे। अनिल साहले १३ रन बनाउँदा आसिफ शेखले २१ रन बनाए। कुशल भुर्तेलले २५ रन बनाएका थिए। ​

स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले २ विकेट लिएका थिए भने ब्राड क्युरी, मार्क वाट र ज्याक जार्भीसले समान १–१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४१ दशमलव ४ ओभरमा १ सय ५४ रन बनाएर अलआउट भएको थियो। उसका लागि मार्क वाटको ३४ रन सर्वाधिक रह्यो।

उनी बाहेक माइकल जोनेस र कप्तान रिचि बेरिङटनले १९–१९ रन बनाए। ब्रान्डन म्यामुलनले १६ रन बनाउँदा माइकल लिस्कले १४ रन बनाएका थिए।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने करण केसी, सोमपाल कामी र गुल्सन झाले समान २–२ विकेट लिए। यस शृङ्खलामा नेपाल अमेरिका र स्कट्ल्यान्डसँग २–२ खेल खेल्दै छन्।

जितसँगै सातौं स्थानमा रहेको नेपालले १० खेलबाट ५ अंक पुर्‍याएको छ। एक खेल कम खेलेको स्कट्ल्यान्ड भने ११ अंकसहित चौथो स्थानमा छ।