प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

उत्तर–दक्षिण (रसुवागढी–ठोरी) साइकल यात्रा सम्पन्न

२०७८ चैत्र ३, बिहीबार १३:२२ बजे

हेटौंडा – हेटौंडाका १० जना साइकलयात्री रसुवागढी–ठोरी (उत्तर–दक्षिण) चीन र भारतीय सीमा नाकाको साइकलयात्रा पुरा गरी बिहीबार साँझ हेटौंडा फर्किएका छन् । हिमालयन राईडर्स सोसाईटीको संयोजकत्वमा आइतबारदेखि रसुवागढी नाकाबाट साइकलयात्रा सुरु गरी पर्साको ठोरी नाकासम्मको करिब ४५० किमि यात्रा तय गरेका हुन् । सोसाइटीका अध्यक्ष चेतनाथ आचार्यको संयोजकत्वमा १० जनाको टोली शनिबार केरुङतर्फ गएको थियो ।

साइकल यात्रीलाई ठोरीका स्थानीयले स्वागत गरेका थिए । बारा राइडर्स एसोसियसनको आतिथ्यमा साइकल यात्री बुधबार ठोरीमा यात्राको गतिबिधि जानकारी दिने, त्रिदेशीय ब्यापारिक नाकालाई सुधार गरी नेपालले कस्तो लाभ लिन सक्छ ? भन्ने बिषयमा बहस गरिएको थियो । बारा राइडर्सका अध्यक्ष शेषराज अधिकारीलगायत ७ जनाको टोली साइकलयात्रीलाई स्वागत गर्न सिमराबाट ठोरी पुगेको थियो ।

टोलीमा सोसाइटीका उपाध्यक्ष एबम् नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्बअध्यक्ष भानुभक्त आचार्य पनि सहभागी भएका छन् । त्यस्तै सोसाइटीका महासचिव एबम् ईन्जिनियर सागर पन्थी, सचिव राजु रानामगर, कोषाध्यक्ष लक्ष्मीचरण श्रेष्ठ, सदस्यहरु बुद्धिबहादुर आले, बुद्धराम श्रेष्ठलगायत छन् । त्यस्तै गरी मकवानपुरका शैलेश दुतराज पनि टोलीमा सहभागी छन् । टोलीमा सिमरा राईडर्स एसोसियसनका ३ जना साइकलयात्री सहभागी थिए । बारा राइडर्सका कोषाध्यक्ष रामेश्वर बास्कोटा, सदस्य हरेराम आचार्य र रामहरि सुबेदी सहभागी थिए ।

बिश्वब्यापी रुपमा बढ्दै गएको ग्लोवल वार्मिङ, पेट्रोलियम पदार्थको मूल्यबृद्धि, नेपालको चुलिंदो ब्यापारघाटा, दैनिक उपभोग्य बस्तुमा तीब्र मिसावटका कारण बिग्रँदो जनस्वास्थ्य आदि कुरामा प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने साईकललाई दैनिकी बनाउने अभियानका साथ साइकलयात्रा गरिएको टोलीका सदस्य आचार्यले बताए ।

आइतबार रसुवाको केरुङ नाकाबाट सुरु गरिएको साइकलयात्रा नुवाकोट, धादिङको मलेखुबाट चेपाङकमर्ग हुँदै चितवनको भण्डारा निस्किएको थियो । चितवन राष्ट्रिय निकुन्ज हुँदै माडी, ठोरीको यात्रा गरिएको साइकलयात्रीहरुले बताएका छन् ।