हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क रुपमा रगत उपलब्ध गराउने भएको छ । जिल्ला रेडक्रस सोसाइटी मकवानपुरसँगको सहकार्यमा उपमहानगरपालिकाले बिरामीका लागि रगत निःशुल्क उपलब्ध गराउने सहमाति भएको हो ।
मान्यताप्राप्त अस्पतालमा उपचाररत् हेटौंडाको बिरामीका लागि चिकित्सको सिफारिसका आधारमा आवश्यकतानुसार रगत रेडक्रसद्वारा सञ्चालित ब्लड बैंक हेटौंडाले उपलब्ध गराउने सहमति भएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै आ.व. २०७९/०८० का लागि वार्षिक विनियोजित बजेट शीर्षक ‘निःशुल्क रक्तसेवा कार्यक्रम’बाट निःशुल्क रगत उपलब्ध गराउन दुवै पक्ष सहमत भएर करार गरिएको मेयरल मिना कुमारी लामाले बताइन् ।
रकम भुक्तानीका लागि रेडक्रसले दिइएको सेवाको प्रतिवेदन त्रैमासिकरुपमा उपलब्ध गराउनुपर्नेछ । साथमा नागरिकतारजन्मदर्ताको प्रतिलिपि वा कार्यालयको सिफारिसपत्र र स्वास्थ्य संस्थाले प्रदान गरेको रगत आवश्यक छ भनी गरिएको सिफारिसपत्र अनिवार्य पेश गर्नुपर्नेछ । सम्झौतामा लेखिएका कुराहरुको हकमा सम्झौताबमोजिम र नलेखिएका कुराहरुको हकमा प्रचलित कानुन बमोजिम हुने उपमहानगरले जनाएको छ ।
मेयर लामाका अनुसार सेवा उपलब्ध गराए वापत् रेडक्रसबाट हुने सम्पूर्ण खर्च उपमहानगरपालिकाले व्यहोर्नेछ । प्रतियुनिट ८ सय ५० रुपियाँका दरले रगत वापत् रकम प्रत्येक त्रैमासमा उपमहानगरपालिकाले रेडक्रसलाई उपलब्ध गराउने मेयर लामाले जानकारी दिइन्। आवश्यकताका आधार उपमहानगरपालिकाभित्र कुनै घटनामा उपचाररत् बिरामीलाई समेत रगत निःशुल्क उपलब्ध गराउन सकिने उनले जानकारी दिइन् ।