प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको सडकमा सर्वोच्चको धक्का, नभत्किने भो २५ मिटर पक्का !

२०८० जेठ ७, आईतबार ०२:५३ बजे

हेटौंडा – विं.सं.२०७० भन्दा अघि हेटौंडाको मुख्य बजारको सडक विस्तारका प्रयास भएपनि सार्थक रुप लिएको थिएन । २०७०/७१ सालदेखि बढी चर्चा रहेपनि जब सडक डिभिजन हेटौंडाले सडक क्षेत्राधिकारभित्र पर्ने घरजग्गा विक्री बितरण रोक्ने निर्णय गर्यो, त्यसपछि बढी चर्चा पायो ।

जब राजनीतिज्ञ, व्यवसायी र स्थानीयहरुको जमात सडकमा उत्रियो । पहुँवाला व्यवसायी र राजनीतिज्ञहरुले राजनीतिक मसला बनाए । सडक डिभिजनको घरजग्गा बिक्री वितरण रोक्ने निर्णय कार्यान्वयन हुन सकेन ।

विं.सं.२०७३ सालमा सडक चौडा बनाउन बकेट फैल्याएको डोजर राम्रोसंग चल्न पाएन, रोकियो । त्यसपछि पटक–पटक सुचना जारी भयो, त्यो सुचनामै सिमित रह्यो । राष्ट्रिय राजमार्ग शहरको मुख्य बजारबाट विस्तार गर्न हुँदैन, व्यापारीलाई विस्थापित अनि जनतालाई सुकुम्बासी बनाउने ? जस्ता कुराले स्थान पायो । 

सडकक्षेत्र मिचेर बनाइएका हेटौंडाका घर निजी घर, टहरा भत्काउँदै डोजर । तस्वीरः सामाजिक सञ्जालबाट 

मकवानपुरका व्यवसायी अरुणराज सुमार्गीले मुख्य सडक विस्तार गर्न नहुने भन्दै राप्ती र कुख्रेनी खोलाको किनारै किनार वाईपास बनाउने योजना ल्याएर एक करोड लगानी गरेका थिए । तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारले साथ दियो, तर ‘जसो जसो बाहुन बाजे उसो उसो स्वाहाः’ भने झै सरकारी कोषको करोडौ रकम स्वाहाः भयो । काम अलपत्र अवस्थामा छ ।

अहिले बढ्दो शहरीकरण र सवारी चापको कारण हेटौंडाको मुख्य बजार क्षेत्रको सडक अस्तव्यस्त छ । सवारी दुर्घटनाको जोखिम बढेको छ । शुन्दर शहरको पहिचान बनाएको हेटौंडा उपमहानगरको शाख जोगाउन सडक विस्तार गर्नु बाहेक विकल्प छैन ।

उपमहानगरले सार्वजनिक क्षेत्र मिचेर बनाएको टप हटाउन जेसिवी सहित नगरप्रहरी सडकमा उतारेपछि २५/२५ मिटर सडक चौडा बनाउने बिषयले फेरि चर्चा पायो । सडक विस्तारको चर्चा बषौँदेखिको हो । यस पटक काम हुन्छ, हुँदैन ? सार्वधारण दोधारमा छन् । 

२५/२५ मिटर होइन, २५ गज भत्किन्छ
अहिले फेरि पनि हेटौंडामा २५/२५ मिटर भत्किन्छ भन्ने चर्चामै छ, तर सर्वोच्च अदालतको अन्तिम फैसला अनुसार महेन्द्र राजमार्गलाई २५/२५ मिटर नभएर २५/२५ गज मात्रैे भत्काउने तयारी भइरहेको सडक डिभिजन हेटौंडाका प्रमुख राजेश कुमार यादवले जानकारी दिए । २५/२५ गज भत्काउने सर्वोच्चको अन्तिम फैसला आएकाले अब कुनै कानुनी झमेला झेल्नु नपर्ने उनले बताए । सरोकारवाला निकायहरुंगस सडक चौडा गर्ने बारे कसरी अगाडि बढ्ने तयारी भइरहेको उनको भनाई छ ।

के हो गज ?
गज मिटर भन्दा सानो एकाई हो । एक मिटरमा ३ दशमलव २८०८४ फिट हुन्छ भने गजमा ३ फिट मात्रै हुन्छ । मिटर भन्दा जग ० दशमलव २८०८४ फिट कम हुन्छ । एक गज बराबर ३६ इन्च हुन्छ । एक गज क्षेत्रफलमा ९ बर्गफिट हुन्छ ।

७/७ फिट कम संरचना भत्किने
हेटौंडा बजारको मुख्य सडक २५/२५ गज मात्रै विस्तार हुँदा ७/७ फिट संरचना जोगिने भएको छ । सर्वोच्चको फैसला अनुसार सडक चौडा बनाउँदा दुबैतर्फ गरी १४ फिट कम संरचना भत्किने भएको हो । पहिलेको अनुसार २५/२५ मिटर सडक भत्किने हो भने ८२/८२ फिटको संरचना हटाउन पथ्र्यो । तर अब २५/२५ गजमा ७५/७५ फिटभित्रको मात्रै संरचना भत्काइने छ ।

मिटरबाट गज कसरी भयो ?
तत्कालिन सरकारद्वारा विं.सं.२०३१ असोज २० गते प्रकाशित राजपत्रमा महेन्द्रराजमार्गलाई २५/२५ गज कायम गर्ने उल्लेख गरेको थियो । नेपालमा गणतन्त्र स्थापनापछि तत्कालिन सरकारले नै मिटरलाई गज कायम गरेको थियो । यहि सडक विस्तारको बिषयलाई लिएर देशभरबाट मुद्दा परेपछि सर्वोच्च अदालतले २०३१ को राजपत्रमा उल्लेख भए अनुसार २५/२५ गजभित्रको मात्रै संरचना हटाएर सडक विस्तार गर्न भन्दै फैसला आएको सडक डिभिजन हेटौंडाका डिभिजन प्रमुख यादवले बताए ।

मुआब्जा नपाउने
सडक चौडा गर्दा घर भत्किने धनीेले मुआब्जा नपाउने प्रमुख यादवले बताए । कसैको घरजग्गा सबै सकिने स्थिति आएमा स्थानीय सरकारको समन्वयमा आवश्यक सहयोगको व्यवस्था मिलाइने उनले बताए ।‘सडक विस्तारकै कारण कोही सुकुम्बासी हुनु पर्ने स्थिति श्रृजना हुँदैन, भए सरकारले व्यवस्था गर्छ,’ उनले भने ।

वाईपास अब सडक डिभिजनकै मातहतमा
बागमती प्रदेश सरकारले बाईपास सडक निर्माणको काममा हात झिकेपछि त्यसको सम्पूर्ण जिम्मेवारी सडक डिभिजनले लिने भएको छ । हेटौंडा सडक विस्तारसंगै बाइपासको पनि ३८ करोड लागत अनुमान तयार गरेर निर्माण कार्य भरहेको सडक डिभिजन हेटौंडाका डिभिजनले जनाएको छ । यसअघि प्रदेशले चौकीटोलदेखि राप्तीपुल र राप्तिपुलदेखि त्रिवेणीसम्म दुई खण्डमा छुट्याएर निर्माण कार्य गरेको थियो । हाल त्यो सडक अलपत्र छ । सडक डिभिजनले चालुआर्थिक बर्षमा त्रिवेणी–रातोमाटे खण्डमा एक करोड लगानी गरेर काम गरिरहेको जनाएको छ ।