प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरको मकैः असिनाले चुट्यो, खडेरीले भुट्यो, हुरी चल्यो सुत्यो

२०८० जेठ ३१, बुधबार १३:१८ बजे

हेटौंडा – मकवानपुरमा किसानले लगाएको मकैबाली गोड्ने बेला हुँदै थियो । जेष्ठ ३ गतेको हावाहुरीले मर्कायो । जेष्ठ ५ गते बर्षिएको असिनापानीले मकै क्षतविक्षत नै बनायो ।

त्यो असिनाले मकवानपुरगढी गाउँपालिकामा मात्रै करिब १०० हेक्टर बढी मकैबाली क्षति भएको पालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीको अनुमान छ ।

गत जेठ ५ गते असिनाले चुटेको मकैवाली  । 

जेन तेन, जोगिएको मकै कतै सुत्ला, कतै घोगा लाग्दै थियो । त्यो मकै करिब ३ साता लामो खडेरीले मकैको बोटनै झुरुम्म हुने गरी डढ्यो । बकैया गाउँपालिकामा मात्रै खडेरीले ६५ प्रतिशतसम्म मकैखेती क्षति भएको पालिका उपाध्यक्ष भक्त बहादुर खत्रीको अनुमान छ ।

खेतबारीमा लगाएको मकैवाली खडेरीको कारण सक्दै ।  

दैव सञ्जोग, असिनाको चुटाई र खडेरीको पेलाईबाट जोगिएको मकैबाली खडेरीपछि आएको बर्षा सहितको हावाहुरीले सोत्तर बनाएको छ । मकवानुरगढी गाउँपालिका–८ गुर्दुमका सोम बहादुर गोलेको मकैबाली सोमबारदेखि परेको हावाहुरीसंगै बर्षाले लडाएको हो । क्षतिको संकलन भएको छैन । पहाडी भेगमा करिब ३ देखि ५ हेक्टर लडाएको अनुमान छ ।

खडेरीपछि बर्षासहितको हावाहुरीले लडाएको मकैवाली ।  

३ महिनाको खेतीले बर्ष भरी खान पुग्थ्यो । अहिले बर्ष भरी खेती गर्दा पनि ‘के खाने, के खाएर बाँच्ने’ स्थितिमा कृषकहरु पुगेको मकवानपुरगढी गाउँपालिका २ का बेद बहादुर पन्त बताउँछन् ।

‘पशुपालनलाई रोगले सिध्यायो, खेतीपातीलाई प्राकृतिक बिपत्तिले । बाच्ने,जिउने आधार कमजोर अवस्थामा पुगेको छ,’ पन्तले भने, ‘अब सरकारले क्षतिको मुल्याङ्कन गरेर सहयोग गर्नुपर्छ ।’

हावाहुरी, असिना र खडेरीका कारण जिल्लामा करिब २४ हजार हेक्टरमा लगाएईको मध्ये ६० प्रतिशत मकैखेतीमा असर पुगेको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ ।

ज्ञान केन्द्रका अनुसार सबैभन्दा बढी क्षति हेटौंडा उपमहानगर र बागमती, बकैयामा भएको छ । त्यस्तै मकवानपुरगढी, मनहरी, कैलाश, राक्सिराङ र भिमफेदी आंशिक क्षति हुँदा थाहा नगर र इन्द्ररोवरमा क्षति न्यून रहेको ज्ञान केन्द्रले जनाएको छ ।

३५ प्रतिशतले उत्पादन घट्ने
मकवानपुरमा बार्षिक ७२ हजार मेट्रिक टन मकै उत्पादन हुने गरेकोमा यस बर्ष ३५ प्रतिशतले उत्पादन कमी आउन सक्ने कृषि ज्ञान केन्द्र चिनवनका सुचना अधिकारी मिन बहादुर पुनले बताए ।

उत्पादन घट्नुको कारण असिना, खडेरी र हावाहुरीसंगै समयमै मल नपाउनु पनि रहेको पुनले बताए । अनुसार यसअघि जिल्लामा सरदर प्रति हेक्टर ३ मेट्रिक टन मकै उत्पादन हुने गरेको थियो ।

क्षतिपूर्ति पाउने अवस्था न्यून
क्षतिको विवरण स्थानीत तहले संकलन गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म पालिकाको प्राविधिक नआएको पीडित किसानहरु बताउँछन् । जिल्लाको प्रायः स्थानीय तहमा अनुमानकै भरमा तथ्याङक संकलन र पेश हुन्छ । तसर्थ किसानहरु क्षतिपुर्ति पाउनेमा विश्वस्त छैनन् ।

मकवानपुरगढी गाउँपालिका वडा नं.२ स्थित राम प्रसाद पुडासौनीको खेतमा लगाईएको रामपुर हाईब्रिड १२ मकैवाली गाउँपालिका प्रमुख र कृषि प्राविधिकको टोलीसहित अनुगमन गर्दै ।   

 हाईब्रिड जातको मकै खेती गर्न सुझाब
उच्च तापक्रममा पनि राम्रो उत्पादन दिन सक्ने भएकाले स्वदेशी रामपुर हाईब्रिड १०/१२ मकै खेती गर्न कृषि विज्ञ चन्द्र कान्त चौधरीले सुझाब दिएका छन् । ३५/३६ डिग्री तापक्रममा पनि पराकसेचन गर्न सक्ने भएकोले उत्पादनको हिसाबले रामपुर हाईब्रिड राम्रो रहेको कृषि विज्ञ चौधरी बताउँछन् ।